काठमाडौँ । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ । बिहीबार काठमाडौंमा दुवै पार्टीले कार्यगत एकताको पत्रमा सहमति जनाएका हुन् । जसपाको तर्फबाट अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी नेपालको तर्फबाट अध्यक्ष राजेन्द्र महतोले सहमति पत्रमा हस्ताक्षर गरे ।
भावी दिनमा दुई पार्टीबीच एकीकरण गर्ने उद्देश्यसहित तत्काललाई भने कार्यगत एकता गरिएको बताएका छन्। राई उपेन्द्र नेतृत्वको जसपा नेपालबाट अलग भएर केपी ओली नेतृत्वको सरकारमा छन भने महतो महन्थ ठाकुर नेतृत्वको लोसपाबाट अलग भएर मुक्ति पार्टी गठन गरेर पहाडिया समुदाय पनि समेटेर अघि बढी रहेका छन्। तराई मधेस केन्द्रित संघीय लोकतान्त्रिक मोर्चामासमेत रहेका महतोको नयाँ कदमले सो मोर्चाबन्दी थप अन्यौलमा परेको छ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर जसपा २०८१ साल वैशाखमा बनेको पार्टी हो । जसपा अहिले सरकारमा पनि सहभागी छ । त्यस्तै, लोसपाबाट अलग भएर राजेन्द्र महतोले २०८० फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति अभियान सञ्चालन गरेका थिए । केही समय अभियान सञ्चालन गरेका महतोले २०८१ असोजमा राष्ट्रिय मुक्ति पार्टी नेपाल गठन गरेका हुन् ।
पहिचानको मुद्दामा सङ्घर्ष गर्नका लागि यी दुवै पार्टीको बिचमा कार्यगत एकता भएको बताइएको छ । उता, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी सङ्घीय लोकतान्त्रिक मोर्चा पनि आबद्ध छ । तर, जसपा भने सो मोर्चामा सहभागी छैन । सुरुमा मोर्चा बनाउनका लागि जसपा नेपालले पनि गृहकार्य गरे पनि मोर्चा घोषणा हुने बेलामा पार्टी त्यहाँबाट अलग भएको थियो ।
संयुक्त रूपमा गरिने सार्वजनिक कार्यक्रमहरूमा दुई दलबीचको कार्यगत एकताको उद्देश्य, नीति र कार्यक्रमको आधारमा आफ्नो मन्तव्य दिनुपर्ने सहमति भएको छ।
तपाईको बिचार