एकताका लागि माओवादी र समाजवादीबीच छलफल सुरु - MirrorNepal.com

एकताका लागि माओवादी र समाजवादीबीच छलफल सुरु


काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एकताका लागि अनौपचारिक छलफल सुरु भएको छ । समाजवादी मोर्चामा रहेका दुवै दलबीच एकताका लागि लामो समयदेखि संवाद जारी रहे पनि पछिल्लो समय दुवै दलका नेतृत्वबीच भेटघाटले तीव्रता पाएको छ ।

एसका नेताले दुवै दलका नेतृत्वबीच पछिल्लो समय बाक्लिएको भेटलाई अनौपचारिक संवाद मात्र भनेका छन् । “एकताको प्रक्रियाकै रूपमा आधार बनाउने कुनै पनि औपचारिक छलफल भएको छैन । माओवादीकै जोडबलमा अध्यक्ष कमरेडले अनौपचारिक छलफल अघि बढाउनु भएको हो,” एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले भने, “पार्टी एकताकै लागि पनि कार्यकर्ताको मनोविज्ञान बुझ्न पछिल्लो भेटघाटलाई तीव्रता दिइएको हो । दुवै दलबीच सौहार्दपूर्ण वातावरण विकासका लागि र एकताको सम्भावनाका विषयमा छलफल भइरहेको छ ।”

उनले एकता गरेर मात्र नहुने भन्दै पार्टी नेतृत्व, संसदीय दलको नेतृत्व तथा अन्य धेरै राजनीति विषयहरू पनि रहेको बताए । पार्टीको अहिलेसम्मको बैठकमा यो विषय औपचारिक रूपमा उठान नभएको उनको भनाइ छ ।

“अफिसियल्ली अध्यक्ष माधवकुमार नेपाल कमरेडले कुनै छलफल गर्नु भएको छैन । सम्बन्ध सुधार, छानबिन र सम्भावना खोजीका लागि पछिल्लो भेटघाट भएको हो,” खतिवडाले भने ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले समाजवादी मोर्चामा भएका पार्टीहरूसँग  छलफल सघन बनाउने समझदारी भए अनुसार दुवै पार्टीका अध्यक्षबीच भेटघाटले तीव्रता पाएको बताए । उनले भने, “समाजवादी मोर्चामा भएका दलहरूलाई नै एकतामा रुपान्तरण गर्ने सोच हो, सोहीअनुसार अहिले दुई दलबीच संवाद भइरहेको छ ।”

संवाद भने अनौपचारिक रूपमा भइरहेको उनको भनाइ छ । माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा मंगलबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच छलफल भएको थियो । दुवै अध्यक्षले सातै प्रदेशका इन्जचार्जहरूसँग एकताको विषयलाई लिएर छलफल गरेको प्रवक्ता सापकोटाले बताए ।

तपाईको बिचार