आन्दोलन हाइज्याक भएको भन्दै बालुवाटार घेराउ - MirrorNepal.com

आन्दोलन हाइज्याक भएको भन्दै बालुवाटार घेराउ


प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग

काठमाडौं । प्रधानमन्त्रीमा सुशीला कार्कीको राजीनामा माग गर्दै सुदन गुरुङ समूहले बालुवाटार घेराउ गरेको छ । मन्त्री छनौटप्रति असहमति जनाउँदै सो समूहले प्रधानमन्त्री कार्कीविरुद्ध नाराबाजी गरेको हो ।

जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतलाई लिएर बालुवाटार पुगेका सुदन गुरुङ समूहले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए ।

सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरूकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन् । गुरुङ गृहमन्त्री बन्ने सामाजिक सञ्जालमा चर्चा थियो । तर, आइतबार साँझ तीन मन्त्री छनौट हुँदा ओमप्रकाश अर्याललाई गृहको जिम्मेवारी दिइएको छ ।

गुरुङले ओमप्रकाश अर्याललाई मन्त्री बनाइएको भन्दै तीव्र आक्रोश व्यक्त गरेका थिए। फेरि आन्दोलन हुन सक्ने चेतावनी दिएका थिए।गुरुङले भनेका छन्, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’

गुरुङ आफै भने जेनजी समूहको आधिकारिक व्याक्ति नभएको र आन्दोलन सकिएपछि मौकामा चौका हान्न आगडि देखिएको आरोप लागेको छ । मुख्य जेनजी समूहका युवाहरुले गुरुङलाई उक्त समूहको नेता मानेका छैनन् । गुरुङ बाहिरबाट परिचालित भएको, एनजीओको लगानीमा तयार गरिएका र राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिलाई फोनमा थर्काउने, थुतेर निकाल्छु भन्ने र जेपनि गर्न तयार हुने जस्ता धम्कि दिदै पत्रकारलाई धम्काउने कार्य गरेको देखिएको छ ।

युवाहरु नाराबाजीमा उत्रिएपछि प्रधानमन्त्री निवास बालुवाटार अगाडि सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो । आन्दोलनको नेतृत्व आफूहरूले गरेको तर,अरुले ‘हाइज्याक’ गरेको असन्तुष्ट समूहको आरोप छ ।

पदभार ग्रहण गरेकै दिन आइतबार प्रधानमन्त्री कार्कीले अधिवक्ता एवं अधिकारकर्मी ओमप्रकाश अर्याललाई गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय र कुलमान घिसिङलाई तीनवटा मन्त्रालय–भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकी हुन्।

उनले यी नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेकी थिईन्। मन्त्रीहरूको शपथ आज सम्पन्न भैसकेको छ ।

तपाईको बिचार