दलित समुदायको घर भत्काएपछि वडाध्यक्ष यादव पक्राउ - MirrorNepal.com

दलित समुदायको घर भत्काएपछि वडाध्यक्ष यादव पक्राउ


काठमाडौँ । सिराहामा आपसी विवादमा घर भत्काइदिएपछि वडाध्यक्ष पक्राउ परेका छन्। कल्याणपुर नगरपालिका-८ का रामकिशोर यादव पक्राउ परेका हुन्।

उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार पक्राउ परेको हो। वडाध्यक्षसहित १३ जनाविरूद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी परेको जिल्ला प्रहरी कार्यालय सिराहाको एसपी अनन्तराज शर्माले जानकारी दिए।

उनका अनुसार सोमबारसम्म वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन्। बाँकीको खोजीकार्य भइरहेको छ।

दसैंमा दुर्गा पुजाको क्रममा सोही वडाका दलित समुदायसँग विवाद भएको थियो। त्यही बेलामा अनधिकृत जग्गा (ऐलानी) मा बसेका ४/५ वटा घर भत्काइदिएको एसपी शर्माले बताए।

‘तीन वटा घर पूर्ण रूपमा क्षति पुगेका छन् भने २ वटामा आंशिक छ,’ उनले भने, ‘लुटपाट भएको भन्नेकुरा पनि आएको छ। हामी अनुसन्धान गरिरहेका छौं।’

यस घटनाबारे पीडित पक्षसँग कुराकानी भइरहेको एसपी शर्माले जानकारी दिए। उनी कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।

तपाईको बिचार