गोपालमान श्रेष्ठ पनि विशेष महाधिवेशनको पक्षमा उभिए - MirrorNepal.com

गोपालमान श्रेष्ठ पनि विशेष महाधिवेशनको पक्षमा उभिए


काठमाडौँ । नेपाली कांग्रेस १४औँ महाधिवेशनका सभापति शेरबहादुर देउवाको प्रस्तावक तथा पूर्वउपसभापति गोपालमान श्रेष्ठ विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।

उनी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगको छलफलपछि विशेष महाधिवेशन पक्षमा खुलेका हुन् । शनिबार आफ्नै निवासमा महामन्त्री गगनकुमार थापा भेट्न आएका थिए ।

उनले सभापति शेरबहादुर देउवा कार्यवाहक सभापति दिएर सिंगापुर गएर फर्किएपछि पूरै अधिकार लिएको भन्दै आपत्ति जनाए । उनले आफूले देउवालाई सङ्कटमा साथ दिएको पनि बताए ।

देउवाको साथ छोडेका श्रेष्ठले सक्रिय राजनीति देउवाले छाडेको जस्तो देखिए पनि व्यवहार त्यस्तो नदेखिएको बताए । उनले भने, ‘शेरबहादुरजीले सक्रिय राजनीति छाड्नुभयो, उपसभापतिजीलाई कार्यवाहक दिनुभयो, अब पार्टीमा शेरबहादुरजीको हस्तक्षेप हुँदैन भन्ने हामीलाई लागेको थियो। तर शेरबहादुरजी सिंगापुर गएर बलियो भएर आउनुभयो। सबैलाई पन्छाएर सबै अधिकार आफ्नो मुठ्ठीभित्र राख्नुभयो।’

श्रेष्ठले पोखराको १० औँ महाधिवेशनदेखि सभापति देउवालाई साथ दिँदै आएको बताए। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको माग अनुसार विशेष महाधिवेशन हुनुपर्ने उनको भनाइ छ ।

‘म सहभागी हुने मात्र होइन, मेरा कुरा सुन्ने सबैलाई विशेष महाधिवेशनमा आउन भनेको छु । मैले महामन्त्री गगन र विश्वजीलाई साथ दिने निर्णय गरेँ। भविष्यका नेता यिनै हुन्,’ श्रेष्ठले थपे।

तपाईको बिचार