गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक - MirrorNepal.com

गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक


काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई मान्यता दिएपछि गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको हो ।

यससँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा शेरबहादुर देउवाबाट गुमेको छ ।  उक्त पक्षलाई आयोगले दलको नाम र चुनाव चिह्न रोज्न समय दिनेछ ।

शुक्रबार आयोगमा कांग्रेसको आधिकारिकता विवाद समाधान गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरू सगुनशमशेर जबरा, जानकी तुलाधर र आयोगका सचिव छलफलमा थिए । अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाही आधिकारिक मानिनेछ ।

नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आधिकारिता दाबी गर्दै आयोग पुगेका थिए । आयोगले सबै डकुमेन्ट अध्ययन गरेर थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिएको हो ।

कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म भएको थियो ।

तपाईको बिचार