कांग्रेस विवाद : सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार - MirrorNepal.com

कांग्रेस विवाद : सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार


काठमाडाैं । नेपाली कांग्रेसको विवादको सम्बन्धमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनबाट सभापति निर्वाचित थापा नेतृत्वको केन्द्रीय समितिलाई मान्यता दिने निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा रिट हालेको थियो ।

यो सँगै निर्वाचन आयोगकै निर्णय अनुसार तत्काल लागि गगन थापा नेतृत्वको कांग्रेसलाई बाटो खुलेको छ भने निर्वाचन कार्यक्रम पनि नरोकिने भएको छ ।

पूर्वसभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापालाई मान्यता दिने निर्वाचन आयोगको निर्णय बदर गर्दै आफ्नै कार्यसमितिलाई काम गर्न दिन अन्तरिम आदेश माग गरेका थिए।

विभिन्न ६ वटा जटिल राजनीतिसम्बन्धी संवैधानिक प्रश्नहरूको निरुपण प्रस्तुत रिट निवेदनको अन्तिम सुनुवाइ हुँदाका बखत मात्रै सम्बोधन हुने प्रकृतिको देखिएको भन्दै हाल माग बमोजिमको अन्तरिम आदेश जारी गरिरहनु नपर्ने आदेशमा उल्लेख छ।

तर प्रस्तुत रिट निवेदनमा जटिल एवं गम्भीर कानुनी तथा संवैधानिक प्रश्नहरू उठाइएको पाइएकाले यी प्रश्नहरूको छिटो निरुपण हुन आवश्यक देखिएकाले रिटलाई अग्राधिकार प्रदान गर्ने पनि आदेश भएको छ।

तपाईको बिचार