सरकार अपराधीलाई जोगाउने काममा लागेको छ : एमाले अध्यक्ष ओली - MirrorNepal.com

सरकार अपराधीलाई जोगाउने काममा लागेको छ : एमाले अध्यक्ष ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा घर जलाउनेहरूलाई सरकारले कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले यस्ता गतिविधि अपराध भएको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाएका हुन् ।

गृह जिल्ला झापामा जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको अवलोकन गर्दै ओलीले सरकार पक्षपाती बनेको आरोप लगाए । तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले सरकार अपराधीलाई जोगाउनेतर्फ लागेको दाबी गरे ।

उनले भने, ‘अहिलेको सरकार सायद उनीहरूकै सरकार हो । त्यसैले उनीहरूलाई जोगाउने काम गरेको छ ।’ आन्दोलनको नाममा अरूको घर जलाउन नपाइने ओलीको भनाइ छ । उनले यस्ता कार्यलाई प्रोत्साहित गर्न नहुने बताए । सरकारले कारबाही नगरेकोप्रति उनले असन्तुष्टि जनाए।

‘अपराधलाई प्रोत्साहित गर्न सकिँदैन । आन्दोलनको नाममा कसैको घर जलाउन पाइँदैन । त्यस्ता व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्ने हो । तर, सरकार उनीहरूकै हो सायद । कारबाही भएको छैन,’ उनले भने, ‘समय आउँछ, कारबाही गर्ने समय आउँछ । देशलाई शान्तिपूर्ण र बस्नलायक बनाउनुपर्ने छ ।’

तपाईको बिचार