काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगन थापाको उपस्थितिमा जनकपुरधाममा गर्न लागेको चुनावी सभा स्थगित गरेको छ । निर्वाचन आयोगको कडा निर्देशन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने कानुनी बाध्यताका कारण पार्टीले उक्त कार्यक्रम तत्कालका लागि रोक्ने निर्णय गरेको हो।
माघ १६ गते सभापति थापाको उपस्थितिमा चुनावी सभा गर्ने कार्यक्रम तय गरिएको थियो । तर निर्वाचन आयोगले आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएपछि सभा स्थगित गरिएको हो ।
कांग्रेस मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले आचारसंहिताका कारण कार्यक्रम रोकिएको जानकारी दिए । उनले चुनावी सभाको नयाँ मिति र कार्यक्रम तालिका अनुकूल समयमा सार्वजनिक गरिने बताए ।
यसअघि सभापति थापाले सर्लाही-४ का युवामाथि भरोसा गरेर आफूले ठूलो राजनीतिक निर्णय लिएको बताएका थिए । ‘म जीवनको अत्यन्तै ठूलो राजनीतिक निर्णय गरेर सर्लाही-४ आएको छु, तपाईँहरूको भर परेर,’ उनले भने।
उनले निर्वाचनका बेला सर्लाही पुगेर सहयोग गर्न स्थानीय नेता कार्यकर्तालाई आग्रह गरे । युवाको साथ र विश्वासकै कारण आफू सर्लाही–४ बाट चुनाव लड्ने निर्णयमा पुगेको उनको भनाइ थियो।
‘तपाईँहरूले इलेक्सनको बेलामा सक्ने काम गरिदिनका लागि सर्लाही आइदिनुपर्छ । तपाईँको घर आइदिनुपर्छ । अभिभावकलाई भनिदिनुपर्छ,’ उनले भने,
‘हाम्रो साथी, हाम्रो दाइ, हामीलाई भर गरेर आएको छ, उसलाई यो ठाउँको सांसद बनाएर पठाउनुपर्छ भनेर विश्वासका साथ तपाईँहरूले काम गरिदिनुपर्ने छ । म तपाईँहरूको भरोसा मानेर आएको छु ।’
गत शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै निर्वाचनमा जाने निर्णय गरेको थियो।
प्रदेश समितिले ठूला सभा रोकिए पनि पार्टीको आन्तरिक बैठक, संगठन विस्तार र चुनावी तयारीका अन्य प्राविधिक कामहरूलाई भने निरन्तरता दिने जनाएको छ। राष्ट्रिय सभाको निर्वाचन भइरहँदा आयोगले तडकभडक र ठूला सभामा कडाइ गरेपछि कांग्रेसले आफ्नो रणनीति बदल्दै कार्यक्रम पछि सारेको बुझिएको छ।
तपाईको बिचार