काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेस अनुहार मात्र होइन, सोच र शैलीमै बदलिएर आएको बताएका छन्। शनिबार कांग्रेस काठमाडौं–४ को निर्वाचन परिचालन मूल समिति गठन समारोहमा सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्र गहिरो रूपान्तरण सुरु भएको दाबी गरे।
उनले भने, ‘नेपाली कांग्रेस पार्टीको सोच बदलिएको छ, संकल्प बदलिएको छ, यसको शैली बदलिन्छ र अब यसको काम पनि बदलिन्छ। यसले दिने परिणाम पनि बदलिएर नयाँ आउँछ।’
कांग्रेस पुरानो पार्टी भएकोमा गर्व रहेको उल्लेख गर्दै उनले पुरानो कांग्रेसका राम्रा अभ्यास र मूल्यलाई आत्मसात गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। नागरिकले अहिले देशमा सुशासन चाहेको भन्दै कांग्रेसले जनताको अपेक्षाअनुसार नै आफ्नो भूमिका निर्वाह गर्ने स्पष्ट पारे।
सभापति थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनभन्दा अघि नै पार्टीको महाधिवेशन हुने जानकारी दिँदै त्यसले पार्टीभित्र देखिएका सबै विषयलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे। समय अभावका कारण आफूले चाहेजस्तो उम्मेदवार छनोट गर्न नसकिएको स्वीकार गर्दै उनले अब कांग्रेसमा उम्मेदवार बन्नका लागि कसैले पनि सभापति वा महामन्त्रीको घर धाउनु नपर्ने दाबी गरे।
उनले आगामी निर्वाचनदेखि तल्लो तहबाटै प्राइमरी निर्वाचनमार्फत उम्मेदवार छनोट गर्ने प्रणाली लागू गरिने स्पष्ट पार्दै पार्टीलाई थप लोकतान्त्रिक र पारदर्शी बनाइने बताए।
तपाईको बिचार