नेतृत्वलाई दोष दिंदै पूर्वमन्त्री जितेन्द्र देवले एमाले छाडे - MirrorNepal.com

नेतृत्वलाई दोष दिंदै पूर्वमन्त्री जितेन्द्र देवले एमाले छाडे


काठमाडौं। पूर्वमन्त्री जितेन्द्र देवले नेकपा (एमाले) परित्याग गरेको औपचारिक घोषणा गरेका छन्। उनले सार्वजनिक रूपमा जारी गरेको लिखित वक्तव्यमार्फत अब आफू एमालेसँग कुनै राजनीतिक सम्बन्धमा नरहेको स्पष्ट पारेका हुन्। सोमबार गृहजिल्ला सप्तरीमा पत्रकार सम्मेलन गरेर देवले एमाले त्यागेको घोषणा गरेका हुन्।

उनले लेखेका छन्,‘विगत लामो समयदेखि देशमा विद्यमान कुशासन, भ्रष्टाचार, लुटतन्त्र, बेराजगारी तथा युवाहरुको आम विदेश पलायनको विरुद्धमा आक्रोशित विस्फोट थियो भदौ २३ गतेको जेनजी विद्रोह। यसलाई यसै रुपमा नबुझी वा बुझ्न नचाही आफू सच्चिन र पार्टीलाई सच्चाउने दिशामा लाग्नुको सट्टा यसलाई विदेशी षड्यन्त्र देख्ने, पार्टीलाई व्यक्तिवाद् र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी सञ्चालन गर्ने विचार, नीति तथा व्यवहारसँग असहमत भई आजैको मितिदेखि एमाले परित्याग गरेको घोषणा गर्दै सम्बद्ध पक्षलाई यस विषयको सार्वजनिक जानकारी गराउँदछु।’

सप्तरीका देव लामो समय एमालेको राजनीतिमा थिए। तर पछि एमाले छाडेर उनी विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरी संविधानसभा सदस्य भएका थिए। फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि उनी पनि साथै गएका थिए।

देवको राजनीतिक यात्रा विभिन्न मोड हुँदै आएको छ। प्रारम्भमा नेकपा (एमाले) बाट सक्रिय राजनीतिमा प्रवेश गरेका उनी पछि विजयकुमार गच्छदारको नेतृत्वमा रहेको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) मा आवद्ध भएका थिए। सोही दलबाट उनी संविधानसभा सदस्य निर्वाचित भएका थिए।

मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) नेपाली कांग्रेसमा विलय भएपछि देव पनि कांग्रेसमा समाहित भए। कांग्रेसको तर्फबाट उनले राष्ट्रिय सभा सदस्यको रूपमा समेत भूमिका निर्वाह गरेका थिए। उनको राष्ट्रिय सभाको कार्यकाल २० फागुन २०८० मा समाप्त भएको थियो।

त्यसपछि १७ असार २०८१ मा देव पुनः एमाले फर्किएका थिए। तर, पार्टीमा फर्किएको केही महिनामै उनले पुनः एमालेसँगको सम्बन्ध तोड्दै अलग हुने निर्णय सार्वजनिक गरेका हुन्।

तपाईको बिचार