काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । शुक्रबार काठमाडौंको दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट प्रहरीले उनलाई पक्राउ गरेकाे हाे ।
उनको समूहले वीरन्जमा गर्न लागेको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा प्रसाइँ बाटोबाटै पक्राउ परेका हुन्।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्षसमेत रहेका प्रसाइँ वीरगन्जको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा पक्राउ परेका प्रहरी स्रोतले जनाएको छ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेपछि त्यसकै आधारमा प्रसाईंलाई नियन्त्रणमा लिइएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।
यसअघि पनि प्रसाईं माघ ५ गते पोखराबाट पक्राउ परेका थिए। कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको भन्ने विवादास्पद अभिव्यक्ति सार्वजनिक भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
त्यस क्रममा सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका प्रसाईंलाई माघ ६ गते हाजिर जमानीमा रिहा गरिएको थियो।
राजावादी अभियन्ता प्रसाईंले विभिन्न माग राखेर २१ फागुनको निर्वाचन बहिष्कार गर्ने चेतावनी दिँदै आएका छन्। उनको समूह र सरकारबीच यही माघ २ गते निर्वाचन विराेधी गतिविधि नगर्ने सहमति भएको थियो।
सिंहदरबारमा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै महाभियानले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि स्थगित गरेको जनाएको थियो।
तपाईको बिचार