यो निर्वाचन देश बनाउने र भत्काउनेबीचको जनमतसंग्रह हो : अध्यक्ष ओली - MirrorNepal.com

यो निर्वाचन देश बनाउने र भत्काउनेबीचको जनमतसंग्रह हो : अध्यक्ष ओली


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि लक्षित गर्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीद्वारा आयोजित चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै आफ्नो पार्टीको लक्ष्य र प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

एमालेको घोषणापत्रमा “समृद्ध नेपाल, सुखी नेपालीः राष्ट्रिय आकाङ्क्षा हाम्रो गन्तव्य” भन्ने नारासहित आफ्नो सरकारको विजयको आवश्यकता र देशको समृद्धिको प्रतिबद्धता प्रकट गरिएको छ । पार्टीले सुशासन, विकास, रोजगारी र सामाजिक न्यायको क्षेत्रमा कार्य गर्नलाई प्राथमिकता दिएको छ। विगतमा पार्टी सरकारमा हुँदा थालिएका परियोजनाहरू जसलाई पूरा गर्न सकेको थिएन, तिनैलाई आगामी कार्यकालमा सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ।

घोषणापत्रमा ११ वटा तत्काल गर्ने काम, पाँच आधारभूत काम, र २५ वटा सङ्कल्प सार्वजनिक गरिएको छ। अध्यक्ष ओलीले भने, ‘हामी भत्काउने र जलाउने होइन, बनाउने सङ्कल्पका साथ अघि बढ्छौँ।’ उनले मुलुकको समृद्धिको लागि विगतका अनुभव र अभ्यासलाई आधार मानेर कार्ययोजना तयार गर्ने कुरा व्यक्त गरे। ओलीले भने- ‘स्वाधीनता र राष्ट्रियताको पक्षमा एमाले सधैं दृढ रहेको छ र हामी कुनै लोकप्रितावाद वा स्टन्टमा केन्द्रित हुने छैनौँ ।’

कार्यक्रममा अध्यक्ष ओलीले गत भदौ २४ को घटना अप्रत्यासित नभएर योजनाबद्ध रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित घोषणापत्र सार्वजनिक समारोहलाई सम्बोधन गर्दै ओलीले देशमा अस्थिरता निम्त्याउने शक्तिको षडयन्त्रले उक्त घटना भएको बताएका हुन् ।

‘दोहोर्‍याएर भन्छु भदौ २४ को महाविनाश अप्रत्यासित घटना होइन । योजनाबद्ध आक्रमण हो । राष्ट्रका विरुद्धको यो अपराध छोप्न अपराधमा सामेल केही शक्तिले नयाँ शक्तिको मुखुन्डो लगाएका छन् । हामीले तिनलाई चिन्नुपर्छ’, ओलीले भने ।

ओलीले एमाले निर्माणका पक्षमा रहेको बताए । उत्तेजनाको पक्षमा आफूहरू नरहेको र आक्रमणको बेला मौन बस्न पनि नसक्ने ओलीको भनाइ छ । एमाले विचारहीन र दिशाहीन स्टन्टबाट टाढा रहेको ओलीको दाबी छ ।

‘नयाँ कि पुरानो भन्ने बहस पनि गरिन्छ । नयाँ भनिएका धेरै पात्रले स्थानीय वा संघीय सरकारमा बसे, आफ्नो क्षमता र हैसियत देखाइसकेका छन् । एमालेको विगतकै अनुभव र कार्यशैली छ । जनताले चिनेका छन् । कागजमा होइन व्यवहारमा’, ओलीले भने- ‘सिंहदरबार, अदालत र संसद् भवनलगायत जलाइएका संरचना पुनर्निर्माण गर्नुछ । शान्ति -सुव्यवस्थाको भरोसा फर्काउनुछ । यो काम भावनाले मात्रै हुँदैन । विगतका ट्रयाक रेकर्डले बोल्छ यी काम एमालेले मात्रै गर्न सक्छ ।’

निर्वाचनपछि बन्ने एमाले सरकारको पहिलो क्याबिनेटबाटै समयसीमा तोकेर ११ काम अघि बढाउने ओलीले बताए । ओलीले देश पुस्ताहरूको द्वन्द्वले बन्न र चल्न नसक्ने बताए । देश बनाउन युवाको ऊर्जा र अघिल्लो पुस्ताको अनुभव पनि चाहिने ओलीको भनाइ छ ।

‘देश बनाउन युवाको ऊर्जा चहिन्छ । जोस चाहिन्छ । सँ-सँगै अनुभवी पुस्ताको भिजन पनि चाहिन्छ । जसले भरोसा दिन्छ । युवा आगो हो त्यसलाई दिशा चाहिन्छ नत्र जलाउँछ । आगो र उज्यालो दुवै मिलेर मात्रै देशको भविष्य उज्वल हुन्छ’, ओलीले भने, ‘यो निर्वाचन पुस्तान्तरणको होइन देश बनाउने र भत्काउनेबीचको जनमत संग्रह हो । बनाउन र सबैसँग सहकार्य गर्नु हाम्रो विशेषता हो । एमाले बनाउने पार्टी हो । बनाउँछ ।’

तपाईको बिचार