रास्वपाको भैरहवा र पोखरामा हुने चुनावीसभा स्थगित - MirrorNepal.com

रास्वपाको भैरहवा र पोखरामा हुने चुनावीसभा स्थगित


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवामा गर्ने भनिएको चुनावी सभा स्थगित गर्न निर्देशन दिएको छ । पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पत्र पठाएर भोलि शनिबार भैरहवामा गर्ने तय भएको चुनावी सभा स्थगित गर्न निर्देशन नै दिएको हो ।

संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारणले हाललाई चुनावी सभा स्थगित गर्नुपरेको पत्रमा उल्लेख छ । चुनावी सभाका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेका बेला पार्टी केन्द्रबाट नै सभा स्थगित गर्न निर्देशन आएको रास्वपा रुपन्देही ३ का चुनावी कमाण्डर नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

गएराति दाङमा रास्वपा समर्थकहरुले नेकपा एमालेको झण्डा जलाएको र एमाले अध्यक्ष केपी ओलीविरुद्ध आपत्तिजनक नाराबाजी गरेको घटनाका कारण रुपन्देहीको सभा स्थगित भएको अनुमान राजनीतिक वृत्तमा गरिएको छ । रास्वपा समर्थकहरुले पार्टीको झण्डा जलाएको र नेतृत्वविरुद्ध नाराबाजी गरेको भन्दै एमाले कार्यकर्ताहरु रुष्ट छन् ।

यसैगरि रास्वपाले पोखरामा गर्ने भनिएको चुनावीसभा पनि स्थगित भएको छ । १० फागुनमा पोखरामा गर्ने भनिएको सभा स्थगित भएको हो । त्यसअघि भोलि भैरहवाको सभा स्थगित गरिएको थियो ।

रास्वपाद्वारा फागुन– ९ (भैरहवा) र फागुन–१० (पोखरा) मा आयोजना गरिएको पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहज्यूको जनसम्बोधन कार्यक्रम विशेष कारणले हालका लागि स्थगित गरिएको जानकारी गराइन्छ’, रास्वपा सहप्रवक्ता प्रतिभा रावलले भनिन् ।

रास्वपाका उपसभापति तथा संघीय निर्वाचन सम्पादन समितिका संयोजक डोलप्रसाद अर्यालले मातहतका संगठनलाई पत्राचार गर्दै सभा स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।

पत्रमा संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारणले हाललाई चुनावी सभा स्थगित गर्नुपरेको उल्लेख छ । प्रदेशस्तरीय उक्त सभाका लागि पत्रकार सम्मेलन, प्रचार प्रसार र स्टेज निर्माणको काम समेत भइरहेको थियो ।

तपाईको बिचार