रास्वपाले पार्टीको झण्डा जलाएको घटनाप्रति एमाले आपत्ति - MirrorNepal.com

रास्वपाले पार्टीको झण्डा जलाएको घटनाप्रति एमाले आपत्ति


काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको माहोल तात्दै जाँदा दाङको तुलसीपुरमा बिहीबार राति भएको एक घटनाले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा सार्वजनिक रूपमा जलाइदिएको भिडियो बाहिरिएपछि विवाद चर्किएको हो।

घटना एमाले महासचिव तथा पूर्वमुख्यमन्त्री शंकर पोखरेलको गृहनगर तुलसीपुरमै भएकोले राजनीतिक सन्देश र असर दुवै हिसाबले संवेदनशील मानिएको छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा रास्वपाका कार्यकर्ताहरूले केपी ओलिविरुद्ध नाराबाजी गर्दै झण्डा जलाएका छन् ।

प्रतिनिधिसभाको निर्वाचन लक्षित विभिन्न राजनीतिक दलहरुका चुनाबी प्रचार-प्रसारका अभियान तीव्र रुपममा बढिरहेको बेला बिहीबार दाङमा भएको रास्वपाको कार्यक्रममा एमालेको पार्टी झण्डा जलाइएको घटनाप्रति एमाले र त्यसका भातृ संगठनको आपत्ति जनाएका छन्।

यस घटनाप्रति नेकपा एमाले दाङ, अनेरास्वियु र राष्ट्रिय युवा संघ नेपाल र नेसनल भोलिन्टियर फोर्सले धमाधम विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्। एमाले निकट नेसनल भोलिन्टयर फोर्सले पार्टीको झण्डा जलाउने रास्वपाका कार्यकर्तालाई करबाही नभए प्रतिवादमा उत्रिने चेतावनी दिएको छ । फोर्सले शुक्बार विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो चेतावनी दिएको हो ।

राजनीतिक असहमति विचार र बहसबाट व्यक्त गर्नुपर्ने तर आगजनी, उक्साहट र अराजकतापूर्ण गतिविधि लोकतान्त्रिक मूल्य विपरीत भएको उल्लेख गरिएको छ। उनले नेपालको संविधान अनुसार राजनीतिक दल खोल्ने, आफ्ना विचार राख्ने र लोकतान्त्रिक गतिविधि सञ्चालन गर्ने अधिकार सुनिश्चित भए पनि झण्डा जलाउने, उच्च नेतृत्वमाथि आधारहीन आरोप लगाउने, गालीगलौज गर्ने र चरित्रहत्या गर्ने कार्य स्वीकार्य नभएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा हिजो साँझ दाङमा भएको घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। नेसनल भोलिन्टियर फोर्सले यस्तो गतिविधि राजनीतिक संस्कार र सामाजिक सद्भाव विगार्ने खतरा भएको चेतावनी दिएको हो ।

शुक्रबार आयोजना हुने चुनावीसभाका लागि आउँदै गरेका पार्टी सभापति रवि लामिछानेको पर्खाइमा रहेका रास्वपाका कार्यकर्ताले बिहीबार साँझ दाङमा एमालेको चुनाव चिह्न (सूर्य) जलाएका थिए । उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै झण्डा जलाएका थिए । जसको चौतर्फी विरोध भइरहेको छ । एमाले महासचिव शंकर पोखरेलले पनि यस कार्यप्रति आपत्ति जनाएका छन् ।

संगठनले तत्काल छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न राज्य संयन्त्रलाई आग्रह गरेको छ। साथै अन्याय, अराजकता र चरित्रहत्या विरुद्ध सशक्त रूपमा उभिने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय स्वाभिमान, विधिको शासन र राजनीतिक मर्यादाको रक्षा गर्न निरन्तर खबरदारी जारी राख्ने जनाइएको छ।

घटनापछि दाङमा सुरक्षा सतर्कता बढाइएको बताइएको छ। स्थानीय प्रशासनले दलहरूलाई संयमता अपनाउन आग्रह गरेको स्रोतले जनाएको छ। चुनाव नजिकिँदै जाँदा साना घटनाले पनि ठूलो रूप लिन सक्ने भएकाले राजनीतिक दल र समर्थकहरूलाई जिम्मेवार व्यवहार गर्न आग्रह गरिएको छ। तुलसीपुरको यो घटनाले फेरि एकपटक प्रश्न उठाएको छ—के नेपालका राजनीतिक दलहरू स्वस्थ प्रतिस्पर्धा र सहिष्णुताको बाटोमा अघि बढ्न तयार छन् ?
झण्डा दहनको यो प्रकरणले चुनावी माहोललाई कति असर पार्छ, त्यो आगामी दिनमा दलहरूको प्रतिक्रिया र प्रशासनको कदमले तय गर्नेछ। अहिले भने तुलसीपुरको राजनीतिक तापमान उच्च बिन्दुमा पुगेको छ।

तपाईको बिचार