काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको मुखमा कम्युनिष्ट पार्टि परिवर्तन गर्ने नेता कार्यकर्ताहरूको लहर चलेको छ। जेन–जी आन्दोलनपछि नेपाल कम्युनिष्ट पार्टि( माओवादी केन्द्र)ले विभिन्न कम्युनिष्ट घटकहरुलाई समेटेर नेपाली कम्युनिष्ट पार्टी गठन गरेपछि अरु कम्युनिष्ट पार्टि तथा समूहहरु छोडेर नेकपा प्रवेश गर्न क्रम बढेको छ ।
दल परिवर्तनको घटनाले राजनीतिक वृत्त फेरि तरंगित बनेको छ। निर्वाचन अगाडि विभिन्न दलका नेता तथा कार्यकर्ताहरुले दल परिवर्तन गर्दा राजनीतिक लाभ र अवसरको खोजीलाई नै मुख्य कारण बनाएको देखिन्छ । राजनीतिक मूल्य, मान्यता र आदर्श भन्दा पनि आफू सुरक्षित हुने र पद प्राप्त गर्ने उद्देश्य राखेर दल परिवर्तन भैरहेका छन् ।
किर्तिपुर नगरपालिकाका पूर्वप्रमुख रमेश महर्जन र वडा नम्बर ६ का पूर्वअध्यक्ष नुच्छे महर्जनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । यसअघि उनीहरू नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग आबद्ध थिए।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेता बामदेव गौतम लगायतले उनीहरूलाई स्वागत गरे। सो अवसरमा प्रचण्डले विभिन्न कम्युनिस्ट शक्तिहरूको एकताबाट बनेको वर्तमान राजनीतिक मोर्चा आगामी दिनमा अझ व्यापक सहकार्यतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेका थिए। उनले राष्ट्रवादी धाराका शक्तिहरूबीच सहकार्य बढ्दा समग्र राजनीतिक वातावरणमा सकारात्मक प्रभाव पर्ने धारणा राखे।
नवप्रवेशी नेताहरूले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निभाउने प्रतिबद्धता जनाएका छन् । सो अवसरमा पूर्वमेयर महर्जनले अघिल्लो कार्यकालमा शक्तिशाली सरकार हुँदा पनि अपेक्षाअनुसार परिणाम दिन नसकेको टिप्पणी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वप्रति आलोचनात्मक धारणा व्यक्त गरेका थिए ।
यस्तै प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का धनुषा क्षेत्र नं. ४ का उम्मेदवार सम्पत महतो राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । आइतबार एक कार्यक्रमबीच उनी रास्वपामा प्रवेश गरेका हुन् । आजपाका उम्मेदवार महतोलाई रास्वपाका उम्मेदवार राजकिशोर महतोले पार्टीमा स्वागत गरेका हुन् ।
यसैगरी केहि दिनअघि रास्वपा बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका थिए । उनले पार्टीको साधारण सदस्य समेत नरहने गरी महामन्त्री समक्ष राजीनामा घोषणा गरे । हुमागाईँ २०७९ मा काभ्रे २ बाट प्रतिनिधिसभाको निर्वाचनमा उठेका थिए । उम्मेदवार छनोटमा चरम आर्थिक चलखेल भएको, केन्द्रीय संरचना विस्तार तथा सदस्यता तथा आर्थिक व्यवस्थापनमा अपारदर्शीता देखिएको उनको आरोप छ ।
यसै हप्ता रास्वपा मधेशकी संस्थापक सभापति ममता शर्मा र नेतृ खेम कुमारी (उर्मिला) भुर्तेलले पनि पार्टी छाडेका थिए । गत हप्ता नेकपा एमाले छाडेका जितेन्द्र नारायण देवले नेपाली कांग्रेसमा फर्किएको घोषणा गरेका थिए ।
तपाईको बिचार