काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) ले चुनावको प्रारम्भिक समीक्षामा पार्टीको ठूलो पंक्ति नै पार्टीविरुद्ध उभिएको निष्कर्ष निकालेको छ । जनवर्गीय संगठनहरूका नेताहरूको बैठकलाई पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै संयोजक पुष्पकमल दाहाल प्रचण्डले यस्तो प्रारम्भिक रिपोर्ट आएको बताएका हुन् ।
बैठकमा संयोजक प्रचण्डले बताए अनुसार पार्टीका ५० प्रतिशत केन्द्रीय नेता नै राष्ट्रिय स्वतन्त्र पार्टिको पक्षमा उभिएको पाइएको छ । रास्वपाको पक्षमा उभिएका नेतामाथि निर्मम शैलीमा कारबाही हुने उनले बताएका छन् ।
‘५० प्रतिशत घण्टीमा गए भन्ने ‘जनरल रिपोर्ट’ आएको छ । हामीले भनेका छौँ, ठोस रिपोर्ट ल्याउनुस्, को–को घण्टीतिर गए, तिनलाई हामी आँखा चिम्लेर कारबाही गर्छौँ अहिले’, बैठकमा बोल्ने क्रममा प्रचण्डले भनेका छन्, ‘पार्टी पुनर्गठन यहीँबाट सुरु हुने हो ।’
उनले को–को नेता रास्वपाको पक्षमा उभिए भन्ने रिपोर्ट तथ्यसहित दिन नेताहरूलाई भनेका छन् । रिपोर्टका आधारमा तत्कालै कारबाही गरी पार्टीलाई पुनर्गठन गर्ने उनको उद्घोष छ ।
‘म तपाईँहरूलाई भन्छु, यहाँ उपस्थित सबै जना जनवर्गीय सङ्गठनका नेता कमरेडहरू हुनुहुन्छ। केन्द्रीय सदस्य र प्रदेश सदस्यमध्ये को–को आफ्नो क्षेत्रमा गएनन् ? कसले भोट हालेनन् ? कसले घण्टीमा भोट हाले ? त्यसको रिपोर्ट तपाईँहरूले हामीलाई दिनै पर्छ’, बैठकमा प्रचण्डले भनेका छन्, ‘त्यस्तालाई कारबाही गर्नै पर्छ, नत्र भने पार्टी बनाउन सकिँदैन ।’
चुनावको बेलामा अन्त जानेलाई अब पार्टीमा नराख्ने घोषणा पनि प्रचण्डको छ । ‘अरू बेलामा ‘पार्टीको हुँ’ भन्ने तर निर्वाचनको बेलामा अन्त जानेलाई पार्टीमा राख्नुभएन’, उनले भनेका छन्, ‘कमिटीहरू चुस्त–दुरुस्त हुनुपर्छ भन्ने नै सबैतिरको सुझाव छ । अब एकातिर विचारलाई अझ तिखार्नपर्यो, विचार र राजनीतिलाई पहिलो प्राथमिकतामा राख्नुपर्यो भने दोस्रो कुरा संगठन हो । त्यो विचार र राजनीति अनुकूलको चुस्त–दुरुस्त संगठन बनाउनै पर्छ । संगठनलाई तलैदेखि भेला, सम्मेलन गरेर निर्वाचित कमिटी बनाउने र निश्चित संख्याभन्दा ठूलो कमिटी नबनाउने काम नगरी नहुने भएको छ ।’
प्रचण्डले अहिलेको चुनावमा जित–हारको कारण जनताको पक्षमा काम गरेको वा नगरेको भन्ने नरहेको बताएका छन् । भक्तपुर–१ को उदाहरण दिँदै प्रचण्डले पार्टीको अभियानलाई नयाँ ढंगले लैजानु आवश्यक भएको बताएका छन् ।
‘भक्तपुरमा नारायणमान बिजुक्छेले ४० वर्षसम्म राज गरेको क्षेत्रमा अहिले त्यो आँधी हुरीले कसरी बढार्यो त ? त्यसकारण यी कुराहरू (विकास, पैसा, प्रचार) सहायक हुन्, मुख्य होइनन्, हाम्रो मुख्य कुरा भनेको विचार, राजनीति र संघर्ष हो । अहिले हामी संघर्षमा पछि पर्यौँ’, उनले भनेका छन् ।
झन्डै २५ दल तथा समूहबिच एकता गरेर चुनावमा गएको नेकपाको नतिजा भने निकै निराशाजनक आयो । नेकपाले प्रत्यक्षमा ८ सिट र समानुपातिकमा पनि जम्मा ८ लाख मत प्राप्त गरेको छ । जुन तत्कालीन नेकपा (माओवादी केन्द्र)ले २०७९ को चुनावमा ल्याएको मतभन्दा पनि कम हो ।
तपाईको बिचार