काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले केन्द्रीय समिति बैठक बोलाउने भएको छ । आइतबार धुम्बाराहीको एक होटलमा बसेको देउवा समूहको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको नेता मीन विश्वकर्माले जानकारी दिए ।
विश्वकर्माका अनुसार बैठक बोलाउने जिम्मेवारी तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ । ‘हाम्रो केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समित बैठक बोलाउने र चुनावी समीक्षा गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘मिति र स्थानको बारेमा कार्यवाहक सभापति ज्यूले शीर्ष नेताहरूसँग छलफल गरेर तय गर्नुहुनेछ ।’
गत पुस अन्तिममा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचिन भएका थिए । सो महाधिवेशनलाई अस्वीकार गर्दै तत्कालीन संस्थापन समूह सर्वोच्च अदालत गएको छ । अदालतमा विषय विचाराधीन भएकाले कुनै पनि एक्सन लिन देउवा समूह पर्खिरहेको छ । विशेष महाधिवेशनअघि तत्कालीन सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका थिए ।
गत २१ फागुनको चुनावमा कांग्रेसभित्रको द्वन्द्व सुषुप्त रूपमा देखापरेको थियो । यही ६ चैतबाट जारी कांग्रेसको केन्द्रीय समिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले पार्टीले चुनावमा अपेक्षित मत नपाउनुको कारण खुलाएर प्रारम्भिक प्रतिवेदन केन्द्रीय समितिमा पेस गरेका छन् । उनले उम्मेदवार नबनेका तथा नबनाइएका नेताहरूले चुनावमा गम्भीर असहयोग गरेको पनि उल्लेख गरेका छन् ।
‘पार्टीका तत्कालीन दुवै महामन्त्री साधारण सदस्यसमेतबाट निकालिएका थिए, तर विशेष महाधिवेशनबाट नेतृत्वमा आएको केवल पाँच दिनमा उम्मेदवारी चयन गर्दा पनि आवेगमुक्त रहेर सम्भव भएसम्म सबैथरिलाई समेटेर खडा गरियो । तर, त्यसरी संयम र परिपक्वतासाथ उम्मेदवार चयन गरिएको सन्देश स्थापित गर्न सकिएन,’ उनले भनेका छन्, ‘कारण थियो उम्मेदवार नबन्नु नबनाइनुभएका कतिपय नेताहरूको गम्भीर असहयोगको भूमिका । त्यो कर्मले उम्मेदवार बन्नु बनाइनुभएका नेताहरूको सम्भावित जितलाई पनि असर पुर्यायो ।’
कांग्रेसका देउवा समूहका नेताहरूले भने पार्टीलाई चुनावमा सघाएको बताउँछन् । ‘हामीले चुनावमा मुख हेरेनौं रुख हेर्याैँ । पार्टी र उम्मेदवारको पक्षमा भन्दा दायाँबायाँ सोच्न सकिँदैन,’ देउवा समूहका नेताले भने ।
केहि दिनअघि निर्वाचनको नतीजा राम्रो नदेखिएपछि कांग्रेसका सभापति गगन कुमार थापाले पार्टि सभापतिबाट राजीनामा दिएका थिए । तर उनले दिएको राजीनामा पार्टी केन्द्रीय समितिले अस्विकार गर्ने र तत्काल पार्टीभित्र सभापति गगन थापाको विकल्प नखोज्ने महामन्त्री गुरु घिमिरेले बताएका छन् । चुनावी नतिजाको नैतिक जिम्मेवारी लिँदै थापाले राजीनामा दिएपछि घिमिरेले यस्तो बताएका हुन् ।
एक टिभीको कार्यक्रममा बोल्दै घिमिरेले थापाको राजीनामा स्वीकृत नहुने बताए । विशेष परिस्थितिमा थापा नेतृत्वमा आएको भन्दै घिमिरेले थापाको विकल्प तत्कालको निम्ति कांग्रेसमा नभएको बताए ।
‘गगन थापाको राजीनामाको सान्दर्भिकता छैन भनेर हामीले भनिसकेका छौँ, उहाँले नैतिक जिम्मेवारी लिने कुरा एउटा हो, त्यो बालिसक्नुभएको छ, हामीले बैठकमा पनि भन्छौँ, राजीनामाको अर्थ छैन’, फरक संवादमा छलफलको क्रममा उनले भनेका छन्, ‘पार्टीका नेता तथा कार्यकर्ताले चाहेअनुसार उहाँ जिम्मेवारीमा आउनुभएको हो, उहाँकै नेतृत्वमा पार्टीको १५औँ महाधिवेशनलाई टुङ्ग्याउनु पर्नेछ, जसबाट उहाँबाट पर जानुहुन्न ।’
घिमिरेले थापाको नेतृत्वको कारण पार्टीले आफूलाई जोगाउन सकेको पनि बताएका छन् । ‘यदि हामी शेरबहादुर देउवाकै नेतृत्वमा चुनावमा गएको भए पार्टी थप कमजोर अवस्था पुग्थ्यो, जुन परिस्थितिमा जान गगनले रोक्नुभयो’, घिमिरेले भनेका छन्, ‘अवस्था निराशाजनक भए पनि जोगिएका छौँ ।’
उता कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ नेविसंघको शुक्रबार नै बसेको बैठकले अब स्वयत्तरुपमा काम गर्ने निर्णय गरेको छ । नेविसंघको यो निर्णय गगन नेतृत्वको कांग्रेसलाई धक्का लागेको छ । यद्यपि महामन्त्री घिमिरेले नेविसंघको उक्त निर्णय कारबाहीयोग्य रहेको बताइसकेका छन् ।
चुनावी हारको दोष एक-अर्कामा लगाउंदै कांग्रेस फुटतिर उन्मुख भएको छ । देउवा पक्षले पन्ध्रौँ महाधिवेशनको अलग्गै तयारीसाथ मिति घोषणा गर्ने बताएको छ ।
तपाईको बिचार