सबै तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्न शिक्षामन्त्रीको निर्देशन - MirrorNepal.com

सबै तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्न शिक्षामन्त्रीको निर्देशन


काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले विद्यालय तथा उच्च शिक्षाका विभिन्न तहमा सञ्चालन हुँदै आएका इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको हो ।

मन्त्रालयद्वारा आइतबार जारी प्रेस विज्ञप्तिअनुसार विभिन्न शैक्षिक संस्थाहरूले प्रवेश परीक्षाको तयारीका नाममा सञ्चालन गरिरहेका यस्ता कक्षाले विद्यार्थीमाथि अनावश्यक आर्थिक भार थप्नुका साथै शिक्षा प्रणालीमा असमानता बढाएकोले बन्द गर्न निर्देशन दिइएको हो ।

यो निर्णय कार्यान्वयन नगरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ । साथै, मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई समेत यस्ता कार्यक्रमहरू अनुगमन गरी बन्द गराउन भनेको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षा क्षेत्रमा समान पहुँच सुनिश्चित गर्न यो कदम चालिएको उल्लेख गरिएको छ ।

विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुअगाडि ब्रिज कोर्षका नाममा भइरहेका थिए ।

यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझ पर्ने मन्त्रालयको दाबी छ ।

तपाईको बिचार