काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिकहरूले चैत २९ गतेदेखि विमानस्थल (अध्यागमन) जाँदा थप दुईवटा कागजात अनिवार्य रूपमा साथमा राख्नुपर्ने भएको छ।
वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गर्दै श्रमिकहरूलाई ठगीबाट बचाउन र पारदर्शिता कायम गर्न नयाँ नियम लागू गरेको हो। विभागका अनुसार अबदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकले विमानस्थल जाँदा हवाई टिकट र त्यसको बिल/रसिद बोक्नुपर्नेछ ।
गन्तव्य मुलुकसम्मको हवाई टिकट मात्र नभई, सो टिकट खरिद गर्दा तिरेको रकमको आधिकारिक बिल वा रसिद पनि अनिवार्य गरिएको छ। यो नियम संस्थागत (म्यानपावरमार्फत) र व्यक्तिगत दुवै प्रक्रियाबाट जाने श्रमिकको हकमा लागू हुने सूचनामा उल्लेख छ ।
यसैगरी म्यानपावरलाई बुझाएको सेवा शुल्कको रसिद पनि देखाउनुपर्नेछ । म्यानपावर कम्पनी (इजाजतपत्र प्राप्त संस्था) मार्फत जाने श्रमिकहरूले आफूले सेवा शुल्क वापत बुझाएको रकमको आधिकारिक रसिद अनिवार्य साथमा राख्नुपर्नेछ। संस्थागत श्रम स्वीकृति लिई जाने श्रमिकका लागि यो कागजात अनिवार्य गरिएको विभागले जनाएको छ।
विभागले सबै इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरूलाई पनि निर्देशन दिएको छ। श्रमिकबाट सेवा शुल्क वापत लिइएको रकमको भौचर, रसिद वा भरपाई अनिवार्य रूपमा श्रमिकलाई उपलब्ध गराउन विभागले भनेको छ। कतिपय अवस्थामा म्यानपावरले बढी शुल्क लिएर रसिद नदिने गरेको गुनासो बढेपछि विभागले यस्तो कडाइ गरेको बुझिएको छ।
यो नयाँ व्यवस्था चैत २९ गतेदेखि कार्यान्वयनमा आउनेछ। तोकिएका कागजात नभएमा विमानस्थलबाट प्रस्थान गर्न कठिनाइ हुन सक्ने भएकाले सम्पूर्ण श्रमिकहरूलाई अनिवार्य रूपमा कागजात दुरुस्त राख्न विभागले अनुरोध गरेको छ।
तपाईको बिचार