उपभोक्ताले महँगोमा केरा किन्नुपर्ने, किसानको लागत समेत नउठ्ने - MirrorNepal.com

उपभोक्ताले महँगोमा केरा किन्नुपर्ने, किसानको लागत समेत नउठ्ने


काठमाडौँ । नवलपरासी -बर्दघाट सुस्ता पूर्वका व्यावसायिक केरा किसानहरूले बजारमा व्याप्त मूल्यको ठूलो खाडलका कारण आफूहरू मारमा परेको गुनासो गरेका छन्।

उपभोक्ताले महँगोमा केरा किन्नुपर्ने तर किसानले भने लागत समेत नउठ्ने सस्तो मूल्यमा बेच्नुपर्ने विरोधाभासपूर्ण अवस्था सिर्जना भएको छ। वर्षौँदेखि पसिना बगाएका किसानहरूले उत्पादनको उचित प्रतिफल नपाउँदा अब यो व्यवसाय नै छाड्नुपर्ने अवस्था आएको बताएका छन्।

यता केरा किसानलाई लागत उठाउनै धौ–धौ छ भने ग्राहकहरुले भने चर्को मूल्यमा खरिद गरेका छन् । बिचौलियाका कारण कृषकले उचित मूल्य नपाउने र ग्राहकहरु भने चर्को मूल्यमा खरिद गर्नु पर्ने अवस्था देखिएको छ । यो अवस्थाबाट बिचौलिया मोटाउने अनि कृषक र ग्राहक भने प्रभावित हुने देखिन्छ ।

मध्यविन्दु नगरपालिका–६ का किसान दुर्गाप्रसाद भुर्तेल, जो विगत ३० वर्षदेखि यो क्षेत्रमा आबद्ध हुनुहुन्छ, उहाँका अनुसार अहिले केरा प्रति कोसा जम्मा ५ देखि ६ रुपैयाँमा बेच्नुपरिरहेको छ। ‘रोग, किरा, हावाहुरी र असिनापानीको जोखिम मोलेर खेती गर्छौँ, तर पाउने मूल्यले त टिक्नै गाह्रो भो’,उहाँले दुखेसो पोख्नुभयो।

यस्तै पीडा कावासोती–१३ की फुलकुमारी महतोको पनि छ। चार बिघामा खेती गरेकी उनी भन्छिन्, ‘हामीले सस्तोमा बेच्नुपर्ने, बजारमा उपभोक्ताले महँगो तिर्नुपर्ने। बिचमा कसले फाइदा खाइरहेको छ, बुझ्नै सकिएन।’

कावासोती कृषिउपज थोक बजार व्यवस्थापन समितिको तथ्याङ्कले बजारको विद्रुप तस्विर छर्लङ्ग पारेको छ :

–किसानले पाउने मूल्य प्रति दर्जन रु. ६० देखि ७२ सम्म।
–थोक मूल्य प्रति दर्जन रु. १५० सम्म।
–उपभोक्ताले किन्ने मूल्य प्रति दर्जन रु.३५० सम्म।

किसानले पाउने र उपभोक्ताले तिर्ने मूल्यमा दोब्बरभन्दा बढीको अन्तर देखिन्छ, जसले सिधै बिचौलियाको हालीमुहालीलाई पुष्टि गर्दछ। जिल्लामा हाल ५ सय ५१ हेक्टर क्षेत्रफलमा केराखेती भइरहेको छ। कृषि विकास कार्यालयका सूचना अधिकारी सञ्जय ढकालका अनुसार उत्पादन बढे पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा सन्तुलन मिल्न सकेको छैन।

बिचौलिया नियन्त्रण, समर्थन मूल्यको तोक्न र किसानको सिधै बजारसम्म पहुँच पुर्‍याउने प्रभावकारी नीति नआए, यो व्यवसायबाट किसान पलायन हुने जोखिम बढ्दो छ।

तपाईको बिचार