काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग तत्काल सहकार्य गरिने बताएका छन्। विराटनगरमा आयोजित प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले एमालेसँग अहिले पार्टी एकता नभए पनि संसद्, सडक र आगामी निर्वाचनमा कार्यगत एकता गरेर अघि बढ्ने स्पष्ट पारेका हुन्।
संयोजक प्रचण्डले समाजवादी मोर्चामा रहेका दलहरूसँग एकता प्रक्रिया तीव्र बनाइने र एमालेसँग कार्यगत सहकार्य गरिने जानकारी दिए। उनले भने, ‘हिजै हामी समाजवादी मोर्चामा भएकाहरूसँग एकता छिट्टै हुँदैछ र नेकपा एमालेसँग सहकार्य हुँदैछ। संसद्मा सहकार्य, सडकमा सहकार्य र आउने प्रदेश तथा स्थानीय तहको चुनावमा सहकार्यको सहमति हुँदैछ।’ संसद्मा एउटा सशक्त वामपन्थी शक्तिका रूपमा उपस्थित हुन यो सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
आफूमाथि हुने गरेका आलोचना र सामाजिक सञ्जालको टिप्पणीलाई सामान्य रूपमा लिएका प्रचण्डले कार्यकर्ताहरूलाई साहसी भएर अघि बढ्न आग्रह गरे। आफूहरू ‘घण्टी बजाउने भिक्षु’ नभएको जिकिर गर्दै उनले जुनसुकै बेला क्रान्तिकारी निर्णय लिन सक्ने चेतावनी दिए।
उनले कार्यकर्तालाई सम्बोधन गर्दै भने,’हामी जस्तोसुकै क्रमभङ्ग गर्न तयार भएका मान्छे हौँ। महाधिवेशनमा अर्को क्रमभङ्ग गरिन्छ, तपाईंहरू बोल्डली अगाडि आउनुस्। नहिचकिचाइकन, नडराइकन र भ्रममा नपरीकन अगाडि आउनुहोस्। प्रचण्डको अन्तिम क्रमभङ्ग हेरेर अगाडि बढ्नुस्।’
अहिले कम्युनिस्ट नेताहरू फेरि नजिकिनुको मुख्य बाध्यता गत फागुन २१ गते भएको निर्वाचनको परिणाम पनि हो । उक्त निर्वाचनमा वामपन्थी धारका एमाले र नेकपासहित सबै कम्युनिस्ट पार्टीहरूले ठुलो धक्का व्यहोर्नु परेको थियो । आशातित सिट ल्याउन नसकेपछि दुवै प्रमुख पार्टीभित्र तीव्र असन्तुष्टि र विवाद पनि चुलिएको छ ।
निर्वाचनको यो धक्कापछि दुवै पार्टीका तल्लो तहदेखि केन्द्रीय तहसम्म नीति र नेतृत्व परिवर्तनको माग जोडतोडका साथ उठिरहेको छ । परम्परागत कार्यशैली र पुरानै अनुहारबाट अब कम्युनिस्ट आन्दोलन अगाडि बढ्न नसक्ने भन्दै पार्टीभित्रैबाट नेतृत्वलाई दबाब परिरहेको छ ।
यही आन्तरिक विवाद, जनमत जोगाउने चुनौती र अस्तित्व रक्षाको दबाबका कारण पनि ओली, प्रचण्ड र माधव नेपालहरू पुराना तिक्तता बिर्सेर सहकार्यको नयाँ विन्दु पहिल्याउन बाध्य भएको पनि विश्लेषण गर्न सकिन्छ ।
तपाईको बिचार