काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनपछि निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बुधबार सम्पन्न भएको छ। बैठकले विभिन्न सांगठनिक निर्णय गर्दै पार्टीका महत्वपूर्ण आयोगहरू गठन गरेको छ।
पार्टी कार्यालयमा बसेको बैठकको प्रारम्भमा नवनिर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको शपथग्रहण कार्यक्रम सम्पन्न भएको थियो। सो अवसरमा पार्टी सभापति रवि लामिछानेले निर्वाचित सदस्यहरूलाई पार्टीको चुनाव चिह्न ‘घण्टी’ र प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
बैठकका निर्णयबारे जानकारी दिँदै महामन्त्री विपिन आचार्यले महाधिवेशन सफल बनाउन सहयोग गर्ने प्रतिनिधि, सुरक्षाकर्मी, नेपाल सरकार, सञ्चारकर्मी तथा स्वयंसेवकप्रति धन्यवाद ज्ञापन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको बताउनुभयो।
निर्वाचन आयोगबाट अनुमोदित नयाँ विधानबमोजिम बैठकले पार्टीका तीनवटा महत्वपूर्ण आयोग गठन गरेको छ। अनुशासन आयोगको प्रमुखमा उच्च अदालतका पूर्वन्यायाधीश लेखनाथ पौडेललाई मनोनित गरिएको छ।
त्यसैगरी, निर्वाचन आयोग र लेखा आयोगको हकमा भने पुराना संरचनाहरू विघटन गरी सोही सदस्यहरूलाई पुनः जिम्मेवारी दिने निर्णय गरिएको महामन्त्री आचार्यले जानकारी दिनुभयो।
उहाँका अनुसार केन्द्रीय समितिमा रिक्त रहेका सदस्य, पदाधिकारी तथा प्रवक्ताको मनोनयनका विषयमा भने यस बैठकले कुनै निर्णय गरेको छैन। मनोनयनको अधिकार पार्टी सभापतिको विशेषाधिकार भएकाले सभापतिको निर्देशन र तयारीअनुसार आगामी बैठकमा यस प्रक्रियालाई अघि बढाइने उहाँले स्पष्ट पार्नुभयो।
बैठकमा पार्टीको डिजिटल डोमेन व्यवस्थापन तथा आन्तरिक संगठनात्मक व्यवस्थापनका विषयमा समेत प्रारम्भिक छलफल भएको महामन्त्री आचार्यले जानकारी दिनुभयो।
तपाईको बिचार