कांग्रेसमा आन्तरिक विवाद र १५औँ महाधिवेशनको तयारी - MirrorNepal.com

कांग्रेसमा आन्तरिक विवाद र १५औँ महाधिवेशनको तयारी


काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र मतभेद वारपारको स्थितिमा पुगेको छ । विशेष महाधिवेशनबाट आएको नेतृत्वप्रति असहमत निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नयाँ दल निर्माणसम्मको सम्भावित कदम चाल्ने संकेत गरेको छ ।

छुट्टै कार्यालय खोलेर गतिविधि अघि बढाउने निर्णय गरिरहँदा संस्थापन पक्षले भने विवादलाई सामान्यकृतरुपमा लिएको छ । विवाद चुलिइरहँदा नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे असार २५ भित्र स्पष्ट निर्णय गर्न नेतृत्वलाई अल्टिमेटम दिएका छन् । उनले उपसभापति विश्वप्रकाश शर्मामार्फत यस्तो अल्टिमेटम दिएका हुन् ।

नेता कोइरालालाई भेट्न उपसभापति शर्मा असार १८ मा उनको निवास धापासी पुगेका थिए । ‘तपाईंहरू पार्टी मिलाउने कि नमिलाउने ? असार २५ सम्म निर्णय दिनुस्’, भेट्न पुगेका शर्मालाई कोइरालाले भनेका छन् । नेतृत्वले पार्टी एकता गर्न नचाहेको निष्कर्षमा कोइराला देखिएका थिए ।

शर्मासँगको छलफलपछि नेता कोइरालाले देउवा पक्षीय नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई गल्फुटार पुगेर भेटेका थिए भने नेताहरू कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, डा. प्रकाशशरण महत र एनपी साउदसँग पनि छुट्टाछुट्टै छलफल गरेका थिए ।

यस्तै, शनिबार पूर्वउपसभापति विमलेन्द्र निधिसँग भएको भेटबारे निधि निकट स्रोतले बताएको छ ।

पार्टीभित्र संस्थापन पक्ष एकताप्रति गम्भीर नदेखिएको निष्कर्ष निकाल्दै देउवा पक्षले छुट्टै कार्यालयमार्फत गतिविधि अघि बढाउने तयारी गरेको छ । असार २२ मा महाराजगन्ज चुनदेवीमा ‘१५औँ महाधिवेशन तयारी समितिको केन्द्रीय सम्पर्क कार्यालय’ औपचारिक रूपमा शुभारम्भ गरिने र लगत्तै राष्ट्रिय भेलाको मिति तोक्ने देउवा पक्षको तयारी छ ।

‘एकताको हाम्रो प्रस्तावमा संस्थापनले रेस्पोन्स नै नगरेको बैठकमा ब्रिफिङ भयो । हाम्रोतर्फबाट जे प्रस्ताव पठाइएको थियो, त्यो पोजिसनमा तलमाथि छैन । हामी निरन्तर त्यही प्रस्तावमै अडिग छौँ, तर उताबाट कुनै रेस्पोन्स आएन’, गोल्फुटारस्थित पूर्णबहादुर खड्काको निवासमा १९ असारमा बसेको देउवापक्षीय बैठकको छलफलपछि नेता एनपी साउदले भनेका छन्, ‘असार २२ मा केन्द्रीय सम्पर्क कार्यालय उद्घाटन गर्ने निर्णय भएको छ । कार्यालय उद्घाटनपछि त्यहीँ बैठक बसेर राष्ट्रिय भेलाको मिति पनि घोषणा गरिनेछ ।’

१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमिति मर्ज गर्ने विषयमा कुरा नमिल्दा विवाद बल्झिएको हो । तत्कालीन कार्यसमितिका ११४ जना हाल समितिमा नभएकाले तिनको समायोजन हुनुपर्ने देउवा पक्षको माग छ ।

अर्कोतर्फ, संस्थापन कांग्रेसले विशेष महाधिवेशनअघिका कुनै पनि कमिटी मर्ज नगर्ने र क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई १५औँ महाधिवेशनमा सहभागी नगर्ने रणनीति लिएको छ ।

इतर समूहका गतिविधि तीव्र बनिरहँदा संस्थापन पक्षका महामन्त्री गुरुराज घिमिरेले भने पार्टी अक्षुण्ण रहने दाबी गरेका छन् । विचारमा फरक भएपनि पार्टी एक ढिक्का हुने तर्क सुनाएका छन् ।

‘नेपाली कांग्रेस फुट्या पनि छैन, फुट्दा पनि फुट्दैन । विचारमा फरक होला तर एक ढिक्क छ । भविष्यमा पनि फुट्दैन’, इतर पक्षको गतिविधिबारे सोधिएको प्रश्नमा घिमिरेको जवाफ छ, ‘उहाँहरु पनि विशेष महाधिवेशन पक्षधर नेतालाई नेतृत्व मानेरै १५ औँ महाधिवेशनमा जोडिन खोज्नुभएजस्तो छ । हामी संवादभन्दा बाहिर छैनौँ । पार्टी सभापतिसहित हामी सबै पदाधिकारी यसमा गम्भीर छौँ । आवश्यक परेको खण्डमा फेरि छलफलमा जोडिन्छौँ ।’

संस्थापन इतरको गतिविधिलाई घिमिरेले स्वभाविक भएको बताएका छन् । ‘संस्थापन इतरका नेताहरूले गतिविधि गर्नुलाई अस्वभाविक मान्दैनौँ । किनभने हामीले यो विशेष महाधिवेशन गर्दा उहाँहरु सहमत हुनुहुन्थेन । अहिले आएर उहाँहरुले यो गतिविधि गर्नुलाई हामी अस्वभाविक रुपमा लिँदैनौँ’, उनले भनेका छन्, ‘अब हाम्रो ध्यान चाहिँ सबै एक भएर १५ औँ नियमित महाधिवेशन सम्पन्न गर्नेतिर हुनुपर्छ ।’

महाधिवेशनको प्रक्रियामा जाँदा सबै विषय मिल्ने घिमिरेको तर्क छ । ‘हामीले समय निर्धारण गरिसकेका छौँ । असोज १६, १७, १८, १९ मा हामीले महाधिवेशनको मिति तोकेपछि त्यसको बृहत तयारीमा जुटेका छौँ’, उनले भनेका छन्, ‘सबै साथीहरूको सहभागिता हुन्छ । सबै एकताबद्ध भएर पन्ध्रौँ महाधिवेशन सम्पन्न गर्छौँ । असहमति राख्ने साथीहरु पनि महाधिवेशनमा सहभागी बन्नुहुन्छ ।’

सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरूले इतर समूहलाई समेट्न क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपेर संवाद जारी राखेका छन् ।

‘हामीले विधिको शासनका लागि आठ दशक लामो संघर्ष गरेका छौँ, त्यसैले व्यक्तिको इच्छाभन्दा विधिको सर्वोच्चतालाई सबैले स्वीकार गर्नु पर्छ’, महामन्त्री घिमिरेले भनेका छन्, ‘विगतका घटनाक्रमबाट सिकेर पार्टीलाई अझ कसिलो एकतामा बाँध्न हामी प्रयत्नशील छौँ ।’

यता पूर्वउपसभापति धनराज गुरुङले भने पार्टीभित्रको आन्तरिक विवाद समाधान उन्मुख नदेखिएको बताउँदै संस्थापन पक्ष जिम्मेवार हुनुपर्ने र दुवै पक्ष लचिलो बन्नुपर्ने धारणा राखेका छन् । ‘अहिलेको समस्याको समाधान भनेकै सबै पक्ष एक कदम पछि हटेर विन–विनको अवस्था सिर्जना गर्नु हो । एकपक्षीय मनोवृत्तिले समाधान निस्कँदैन’, उनले भनेका छन् ।

हाल कांग्रेसले नयाँ क्रियाशील सदस्यता व्यवस्थित गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ र पार्टी सदस्यता १० लाख पुर्‍याउने लक्ष्य राखेको छ । संवाद र रणनीतिक टकरावका बीच कांग्रेसको आन्तरिक राजनीतिको भविष्य असार २५ को अल्टिमेटम र असार २२ को समानान्तर कार्यालय उद्घाटनपछि कुन दिशामा जाने हो भन्ने चासो बढेको छ ।

तपाईको बिचार