काठमाडौं । नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सरकारको सञ्चारमाध्यमप्रतिको दृष्टिकोण सङ्कुचित भएको बताएकी छन् । आइतबार ललितपुरमा महासङ्घद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचित गर्दै लगेको बताइन् ।
संविधानले विचार र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरे पनि नयाँ सरकार गठन भएको १०० दिनमा मिडियाप्रति सकारात्मक परिवर्तन नदेखिएको उनको टिप्पणी रहेको छ । उनले पत्रकारहरूको सूचनामा पहुँच सीमित भएको, सिंहदरबारमा मन्त्रालयसम्म पुग्न सकिने तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेटसम्म पनि पत्रकारलाई प्रवेश नदिइने अवस्था रहेको दाबी गरिन् ।
शर्माले भनिनन्, “संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको छ। तर अहिले हामीले अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन आएको आभास गरिरहेका छौँ । नेपाल पत्रकार महासङ्घले यो विषय निरन्तर उठाउँदै आएको छ । सरकारले १०० दिन पूरा गरेको अवस्थामा मिडिया क्षेत्रमा भएका उपलब्धिबारे मन्त्रीज्यूले जानकारी गराउनुहुनेछ भन्ने अपेक्षा थियो । तर हाम्रो मूल्याङ्कनअनुसार यस अवधिमा सरकारको मिडियाप्रतिको दृष्टिकोण झन् सङ्कुचित भएको महसुस भएको छ । सिंहदरबारभित्र मन्त्रीज्यूसम्म पुग्न सकिन्छ, तर प्रधानमन्त्री कार्यालयको गेटसम्म पनि पत्रकार जान नपाउने अवस्था छ। संसदीय समितिमा पनि सहज प्रवेश छैन। सरकारले यी १०० दिनमा मिडिया तथा पत्रकारिताप्रति गरेका सकारात्मक र नकारात्मक कामबारे मन्त्रीज्यूले स्पष्ट पार्नुहुनेछ। हाम्रो तर्फबाट अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित भएको महसुस भएको छ। राजनीतिक र आर्थिक केन्द्रबाट प्रेसलाई नियन्त्रण गर्ने प्रयास भइरहेको हो कि भन्ने प्रश्न उठेको छ ।”
शर्माले अघिल्ला सरकारहरू (बहुमत, दुईतिहाई)ले पनि मिडियामाथि सङ्कुचन गरेको अनुभव भएको उल्लेख गर्दै राज्य सधैँ केही हदसम्म अनुदार रहने गरेको बताइन् । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताअन्तर्गत सूचना माग्ने, प्राप्त गर्ने र तथ्य यकिन गरेर मात्र समाचार प्रकाशनरप्रसारण गर्ने अधिकार रहे पनि सरकार संविधानअनुसार प्रेस स्वतन्त्रताको पक्षमा देखिएको नभएको आरोप लगाइन् ।
तपाईको बिचार