काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका मानिसहरू सरकारमा पुगेकाले देश संकटको अवस्थामा गुज्रिरहेको बताएका छन् ।
पार्टीका प्रदेश कमिटीका पदाधिकारी र मिसन पार्टी जागरणका केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अहिले विभिन्न स्वार्थ समूहहरूले आफ्नो सक्रियता बढाइरहेको जिकिर गरे ।
उनले भने, ‘सरकार सुरूदेखि पूर्वाग्रह र प्रतिशोधपूर्ण ढङ्गले अगाडि बढेको छ । यतिबेला नियम कानुन लत्त्याएर स्वेच्छाचारी शासन व्यवस्थातिर उन्मुख छ ।’
उनले कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने हुँदा तयार हुन पनि मातहत कमिटीलाई निर्देशन दिएका छन् ।
महासचिव पोखरेलले पार्टी विस्तारको दायरा फराकिलो बनाउन हरेक वर्ग, समुदाय र पेसागत क्षेत्रलाई समेटेर जागरण अभियान सञ्चालन गरिएको बताउका छन् ।
पार्टीका प्रदेश कमिटीका पदाधिकारी र ‘मिसन पार्टी जागरण अभियान’ का केन्द्रीय प्रतिनिधिसँग सोमबार भर्चुअल बैठक गर्दै महासचिव पोखरेलले पार्टीको जनतासँग टुटेको सम्बन्धलाई जोड्ने उद्देश्यका साथ अभियान ल्याइएकाले प्रभावकारी बनाउन निर्देशन दिए ।
पार्टीले अभियानका लागि सबै पालिका तहसम्म केन्द्रीय प्रतिनिधि खटाएको छ । महासचिव पोखरेलले पार्टीमा सङ्गठनात्मक पुनःगठनको कार्यलाई तल्लो तहसम्म विस्तार गरिने बताए ।
पार्टीका सचिव भानुभक्त ढकालले सदस्यता नवीकरणको समय सीमा अभियानका क्रममा सदस्यता नवीकरणलाई पनि तीव्रता दिइने जानकारी दिए ।
तपाईको बिचार