काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका पूर्वसांसद डा. धवलशमशेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गर्ने निर्णय गरेका छन्।
उनीहरूले पार्टीको नाम ‘जय नेपाल पार्टी’ राख्ने निर्णय गरेका छन्। पार्टीको अध्यक्ष डा. धवलशमशेर राणा रहनेछन् भने सर्वोच्च नेताको जिम्मेवारी दुर्गा प्रसाईंले सम्हाल्ने सहमति भएको छ।
नयाँ दल दर्ताका लागि साउन २८ गते निर्वाचन आयोगमा निवेदन दिने तयारी गरिएको छ। सोही दिन पार्टीको औपचारिक घोषणा पनि गरिने भएको छ।
नयाँ पार्टी गठनको तयारीस्वरूप विभिन्न समिति बनाएर काम गर्दै आएका उनीहरूले आज बसेको तयारी समितिको बैठकबाट ‘जय नेपाल पार्टी’ स्थापना गर्ने निर्णय गरेका हुन्। नेता सगुनसुन्दर लावतीका अनुसार पार्टीको चुनाव चिह्नबारे भने विभिन्न विकल्पमा छलफल भइरहेको छ।
राणाले गत जेठ १७ गते राप्रपा परित्याग गरेका थिए। उनले राप्रपाका विभिन्न तहका करिब १८५ नेता–कार्यकर्तालाई पनि आफ्नो अभियानमा समेटेका छन्।
राणाको अभियानमा केही वर्षदेखि ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान’ सञ्चालन गर्दै आएका प्रसाईं पनि जोडिएका छन्। गत जेठ २२ गते राणा र प्रसाईंबीच नयाँ पार्टी गठन गर्ने सहमति भएपछि प्रसाईंले आफ्नो अभियान बिसर्जन गरेका थिए।
उनीहरूले प्रजातान्त्रिक राष्ट्रवादी शक्तिको निर्माण गर्ने लक्ष्य लिएको बताएका छन्। संवैधानिक राजतन्त्र र सनातन धर्मको पक्षमा रहेर राजनीति अघि बढाउने उनीहरूको तयारी छ। यो दल दर्ता भएपछि राप्रपासंगै राजावादी जनमत विभाजन हुने देखिएको छ ।
राणा र प्रसाईं दुवै केही समययता राजसंस्था पुनर्स्थापनाको पक्षमा सक्रिय छन्। उनीहरू २०८१ चैत १५ गते काठमाडौंमा भएको राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा एउटै मोर्चामा सहभागी भएका थिए। त्यसबेला नवराज सुवेदीको संयोजकत्वमा गठन भएको राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन समितिमा प्रसाईं आन्दोलनका कमान्डर र राणा आन्दोलन परिचालन समिति संयोजकको भूमिकामा थिए।
तपाईको बिचार