काठमाडौं । आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्डमा बन्दी बनाएर राखिएका ३५ जना नेपाली युवाको उद्धार गरिएको जनाएको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उत्तराखण्ड प्रहरी र किन इन्डिया नामक एक सामाजिक संस्थाको सहयोगमा असार ५ गते उनीहरुको उद्धार गरिएको जानकारी दिएको हो ।
राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार नेपालका विभिन्न जिल्लाका युवाहरुलाई आकर्षक जागिर दिने भन्दै भारतको उत्तराखण्डस्थित काशिपुरमा बोलाइएको थियो । त्यहाँ पुगेपछि उनीहरुलाई बन्दी बनाएर कुटपिट, यातना दिइएको र विभिन्न शीर्षकमा रकम असुल गरिएको भन्ने व्यहोरा राजदूतावासको जानकारीमा आएको थियो ।
परराष्ट्र मन्त्रालयको निर्देशनबमोजिम राजदूतावासले तत्काल पहल गर्दै उद्धार कार्य अगाडि बढाएको थियो । सोही पहलमा असार ५ गते पैंतीस जना नेपाली युवाहरुको सफलतापूर्वक उद्धार गरिएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
उक्त घटनामा संलग्न केही व्यक्तिलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको छ । साथै, उत्तराखण्डका अन्य स्थानमा पनि बन्दी बनाइएका हुन सक्ने थप नेपाली युवाहरूको खोजी र उद्धार कार्य जारी राखिएको राजदूतावासले जनाएको छ ।
उद्धार गरिएका युवाहरुलाई आवश्यक कानूनी प्रक्रिया पूरा भएपछि नेपाल पठाइने राजदूतावासले बताएको छ ।
तपाईको बिचार