काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक शुरू भएको छ । बिहीबारबाट शुरू भएको बैठक पार्टी कार्यालय च्यासलमा आज पनि जारी छ । बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको छ ।
मंगलबार बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव कार्ययोजनामा आज नेताहरूले आफ्नो धारणा राख्ने छन् । बैठकमा धारणा राख्ने प्रत्येक सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । संगठित सदस्यको संख्या १० लाख पुर्याउने एमालेको लक्ष्य छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजबारे छलफल गर्न पोलिट्ब्युरो बैठक बसेको हो।
बैठकले गएराति सम्पन्न सचिवालय बैठकका निर्णय अनुमोदन गर्ने नेताहरूले बताएका छन् । साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा सचिवालय र पोलिटब्युरो बैठकका निर्णय प्रस्ताव गरिनेछ । सचिवालय बैठकले एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ मा झार्ने निर्णय गरेको छ ।
७० वर्षे उमेर र दुई कार्यकालको हद पनि हटाएको छ । यस्तै अबदेखि पार्टीमा सचिवालय समिति पनि नरहने निर्णय गरेको छ। अब एमालेमा स्थायी कमिटी, पालिटब्युरो र केन्द्रीय कमिटी मात्र रहनेछन्। १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने निर्णय भएको छ ।
आगामी राष्ट्रिय महाधिवेशनदेखि केन्द्रीय निकायका रूपमा तीनवटा कमिटी मात्र सक्रिय हुने गरी विधान महाधिवेशनमा प्रस्ताव गरिने भएको छ । पार्टीमा अध्यक्ष, महासचिव र उपमहासचिव, उपाध्यक्ष पाँच र सचिव सात जना रहने सहमति भएको छ ।
पार्टी उपाध्यक्ष एवं विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेलले पदाधिकारी संख्या ११ मात्र राख्ने प्रस्ताव गरेका थिए। तर, छलफलपछि १५ पदाधिकारी राख्ने निर्णय भएको हो । पौडेलले १९९ सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव गरेकामा २५१ सदस्यीय बनाउने सहमति भएको छ ।
केन्द्रीय कमिटीका एक तिहाइ सदस्य पोलिटब्युरोमा रहनेछन्, जसअनुसार एमालेको पोलिटब्युरो अब ८३ सदस्यीय हुनेछ । हाल एमाले पोलिटब्युरो समितिमा ९९ सदस्य छन् ।
गएराति सम्पन्न सचिवालय बैठकले गरेका निर्णयलाई उद्धृत गर्दै महासचिव शंकर पोखरेलले पार्टीमा विधि निर्माणमा रहेको अन्योल हटेको दाबी गरेलगत्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महासचिव पोखरेलको प्रतिवाद गरेका छन् । साथै वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधान संशोधन (मस्यौदा) माथि सचिवालय बैठकमा गम्भीरताका साथ छलफल भएको भन्दै पोलिटब्युरो बैठकमार्फत परिमार्जनका लागि छलफल गर्न तयारी गर्न भनेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेतृत्वमा आउने प्रयास गरिरहेका बेला सचिवालय बैठकले गरेका निर्णयहरूबाट भण्डारी आगामी विधान महाधिवेशनमै प्रतिनिधि बन्न नपाउने भएकी छन् । यो प्रबन्धका कारण एमालेको ११ औँ महाधिवेशनमा ओली नै दोहोरिने निश्चित भएपछि एमालेको पोलिटब्युरो बैठकमा हंगामा हुने संकेत देखिएको छ । भण्डारीको पक्षमा खुलेका वरिष्ठ उपाध्यक्ष पोखरेल सचिवालयको निर्णय उल्ट्याउन सकिने भन्दै पोलिटब्युरो बैठकमा आफू निकटकाहरुलाई आह्वान गरिरहेका छन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले पोलिटब्युरो सदस्यहरूलाई प्रस्तावमाथि बहस र छलफलमा सक्रिय सहभागिता जनाउन आह्वान गर्दै परिमार्जन गर्न सकिने बताएका छन् ।
तपाईको बिचार