वसन्तपुरमा धुमधामका साथ मनाइयो इन्द्रजात्रा - MirrorNepal.com

वसन्तपुरमा धुमधामका साथ मनाइयो इन्द्रजात्रा


काठमाडौं । उपत्यकाको सबैभन्दा ठूलो पर्व इन्द्रजात्रा वसन्तपुरमा शनिबार धुमधामका साथ मनाइएको छ ।  इन्द्रदेवको पूजा आराधना सहित शनिबार विशेष कार्यक्रमकाबीच वसन्तपुरमा इन्द्रजात्रा मनाइएको हो ।

इन्द्रदेवको पूजा आराधनासहित काठमाडौंको ऐतिहासिक हनुमानढोकामा ध्वजासहितको पवित्र योंशी ठड्याएर ‘इन्द्रध्वजोत्थान’ गरिएपछि औपचारिक रूपमा पर्व प्रारम्भ हुन्छ ।

शत्रु विजयी भएको खुसीयालीको प्रतीक स्वरूप यो पर्व मनाउने परम्परा रहेको मानिन्छ । भाद्र शुक्ल चतुर्दशीका दिनबाट सुरु हुने इन्द्रजात्रा आठ दिनसम्म विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रमसहित मनाइन्छ । यस अवधिमा विभिन्न नाचगान, रथयात्रा र देवी–देवताको पूजा-आजा गर्ने परम्परा छ ।

इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ ।

यो पर्व विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा धूमधामका साथ मनाइन्छ ।

यसैगरी, जीवित देवी कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा निकालिएको छ । आज राष्ट्रप्रमुख स्वयम् उपस्थित भई कुमारीको दर्शन, पूजा तथा प्रसाद ग्रहण गर्ने प्रचलन छ ।

यस अवसरमा काठमाडौं महानगरपालिकाले प्रत्येक वर्ष विशेष कायक्रम आयोजना गर्ने गरेको छ । इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली उच्च पदस्थहरू वसन्तपुर पुगेका थिए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बसन्तपुरमा इन्द्रजात्राका लागि पुगेका राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत गरे ।

तपाईको बिचार