काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक ठहर गर्न नसक्ने दावी गरेका छन् । सोमबार विशेष महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो स्पष्ट पारेका हुन् ।
थापाका अनुसार, ‘नेपालको संविधानको आधारमा बनेको राजनीतिक दलसम्बन्धी ऐन र निर्वाचन आयोगले पारित गरेको कांग्रेस विधान अनुसार विशेष महाधिवेशन कानुनी छ। त्यसैले एक-दुई-तीन निर्वाचन आयोगले अवैधानिक भन्न सक्दैन ।’
कांग्रेस विधानको धारा १७ (उपधारा २) अनुसार, ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर निवेदन गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । असोज २८ गते, ५४ प्रतिशत सदस्यको हस्ताक्षरसहित विशेष महाधिवेशनको निवेदन केन्द्रीय कार्यालयमा बुझाइएको थियो ।
विशेष महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले कानुनी, व्यावहारिक र परम्परागत आधारमा विशेष महाधिवेशनको आवश्यकता औँल्याएका हुन् ।
थापाले नवयुवाको आह्वानमा भएको विद्रोहको मर्म नीतिमा परिवर्तन, अपनाइरहेको तरिका फेरबदल खोजेकाले विशेष महाधिवेशन आयोजना गरिएको उल्लेख गरेका छन् ।
यस्तै, पार्टीको विधान कार्यान्वयनमा प्रतिबद्ध रहेको पुष्टि गर्न विशेष महाधिवेशन आयोजना गरिएको उनको भनाइ छ । ‘हामी आफैँले पार्टीको विधान मानेनौँ भने हामी संविधान र कानुनको शासनमा विश्वास गर्छौँ भनेर आमनेपाली जनतालाई कसरी आश्वस्त तुल्याउने ?,’ थापाको प्रश्न छ ।
उनले भनेका छन्, ‘हामीले जनताको विश्वास बढाउने विन्दु पनि यही हो ।’
कांग्रेसको ऐतिहासिक परम्परामा आधारित रहेर पनि विशेष महाधिवेशन आयोजना गरिएको उनले बताएका छन् । ‘नेपाली कांग्रेस जिम्मेवार राष्ट्रिय शक्ति भएकाले पार्टीलाई वा व्यक्ति विशेषलाई केन्द्रमा राखेर होइन, देश, काल र परिस्थितिलाई मध्यनजर गर्दै नेतृत्वदायी बाटो देखाउनुपर्नेछ । हाम्रा अग्रजले पनि व्यक्ति र पार्टीभन्दा देश र जनताको हित हुने गरी अघि बढ्नुभयो । व्यक्तिगत दृष्टिकोण वा चाहनाअनुसार राष्ट्रिय र पार्टीको समस्याको हल खोज्ने प्रवृत्ति देखाउनु भएन,’ उनले भनेका छन् ।
तपाईको बिचार