काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटले निर्वाचनमा कुनै असर नपर्ने बताएका छन् ।
शुक्रबार चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन गर्दै प्रचण्डले कांग्रेस विभाजनपछि निर्वाचनमा असर पर्ला भन्ने प्रश्न उठेको बताए। उनले भने, ‘निर्वाचनलाई असर पर्ने कुनै सम्भावना छैन।’
निर्वाचनको मुखमा ठुलो पार्टी विभाजन हुनु राम्रो नभएको प्रचण्डको भनाइ छ । उनले सरकारका प्रतिनिधि, निर्वाचन आयोग र सुरक्षा निकायसँग कुरा गर्दा पनि कांग्रेसको कारण निर्वाचनमा असर नपर्ने जवाफ पाएको बताए ।
प्रचण्डले सबै पार्टीहरू निर्वाचनतिर केन्द्रित भएकाले निर्वाचन निश्चित हुनेमा ढुक्क हुन आग्रह गरे । उनले आफ्नो दलका तर्फबाट प्रत्यक्षतर्फ टिकट वितरण सुरु भइसकेको जानकारी पनि दिए ।
अहिलेको अवस्थामा निर्वाचन बाहेक अरू विकल्प नभएको भन्दै उनले भने, ‘अन्य विकल्पमा सोच्न थाल्दा दुर्घटना निम्त्याउने कारक बन्न सक्छ ।’
कार्यक्रममा भरतपुर महानगरकी प्रमुख रेणु दाहालले जीर्ण भवनले सेवाग्राहीलाई असहज भएको भन्दै नयाँ भवन निर्माण गरिएको जानकारी दिइन् । नयाँ ६ तले प्रशासकीय भवन ५३ करोड ३२ लाख ४१ हजारमा निर्माण भएको महानगरले जनाएको छ।
तपाईको बिचार