राष्ट्रियसभामा पहिलो दल बन्दै कांग्रेस - MirrorNepal.com

राष्ट्रियसभामा पहिलो दल बन्दै कांग्रेस


काठमाडौँ । राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार मतदान जारी छ । निर्वाचन आयोगका अनुसार सात वटै प्रदेशमा १८ सिटका लागि ४४ जनाको उम्मेदवारी परेको छ । कोशी प्रदेशमा ५, मधेश ११, बागमती ६, गण्डकी ६, लुम्बिनी ८, कर्णाली ४ र सुदूरपश्चिम ४ जनाले उम्मेदवारी दिएका छन्।

चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपाल (लोसपा) बीच तालमेल भएको छ । कांग्रेसले ९, एमालेले ८ र लोसपाले १ सिटमा उम्मेदवारी दिएका छन् । यो तालमेलपछि लगभग सबै सिटमा तालमेल गरेका दलका उम्मेदवार विजयी हुने अनुमान छ ।

हाल राष्ट्रियसभामा तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) १८ सांसदसहित पहिलो दल छ । तत्कालीन एकीकृत समाजवादीसँग ८, एमालेसँग ११, जसपा नेपालसँग ३, लोसपा १ र राष्ट्रिय जनमोर्चासँग १ सांसद छन् । हाल प्रतिनिधिसभा चुनावका लागि राजीनामा दिने क्रम जारी छ, जसले समीकरणमा परिवर्तन ल्याउने देखिन्छ ।

आगामी २० फागुनदेखि केही सांसदको कार्यकाल सकिँदैछ । कांग्रेसका १६ सांसदको कार्यकाल बाँकी छ ।नयाँ निर्वाचनपछि कांग्रेसका ९ जना विजयी भएमा पार्टीको संख्या २५ पुग्नेछ । नेकपाले ९ सिट गुमाउँदा १७ सिटमा सीमित हुनेछ । एमाले र जसपा-लोसपा तालमेलपछि समान समीकरण रहनेछ ।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका/नगरपालिका अध्यक्ष र उपाध्यक्ष मतदान गर्ने अधिकार राख्छन्। सात वटै प्रदेशमा ५५० प्रदेशसभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रधान सहित स्थानीय तहका १ हजार ५०६ मतदाता छन्।

आइतबार कोशी प्रदेशबाट ३, मधेशबाट ४, बागमती र गण्डकीबाट २/२, लुम्बिनीबाट ३, कर्णाली र सुदूरपश्चिमबाट २/२ सदस्य निर्वाचित हुनेछन् ।

तपाईको बिचार