खोटाङ। जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ । गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको एक लाख रुपैयाँ बजेटबाट यस वर्ष ११ मुरी तिते फापर उत्पादन गरिएको हो ।
गाउँपालिकाको लगानीमा उत्पादन गरिएको औषधीय गुण भएको तिते फापर प्रतिकेजी ९० रुपैयाँ मूल्य निर्धारण गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राईले बताइन् । तिते फापर लोप हुँदै गएको र स्वास्थ्यका लागि फाइदाजनक भएकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएको उनको भनाइ छ । यही कार्यक्रमअन्तर्गत यस वर्षदेखि तिते फापर उत्पादन सुरु गरिएको र उत्पादन गरिएको फापर बिक्रीका लागि भण्डारण गरेर राखिएको छ । खरिद गर्न इच्छुकले चिसापानी बजारबाट प्रतिकेजी ९० रुपैयाँमा लिन सक्ने जनाइएको छ ।
आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत वडा नं ४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कमा सरकारी तथा पर्ती जग्गामा तिते फापर खेती लगाइएको थियो । तिते फापर खेतीका लागि जमिन खनजोत, बीउ छर्ने, उत्पादन काट्ने र उठाउने काममा पारिश्रमिक दिएर कामदार लगाइएको कृषि विकास शाखा प्रमुख काजोल कुश्माले जानकारी दिए ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाले यसअघि सोही क्षेत्रको बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको थियो । आलुखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१÷०८२ मा उपलब्ध गराएको १५ लाख रुपैयाँ सशर्त बजेटमध्ये सात लाख रुपैयाँ लगानी गरेर आलु उत्पादन गरिएको हो ।
भञ्ज्याङखर्कमा रहेको करिब ६१ रोपनी सार्वजनिक बाँझो जमिन फोरेर गत फागुनमा आलुखेती लगाइएको थियो । गाउँपालिकाको आन्तरिक आयश्रोत वृद्धि गर्ने उद्देश्यले रोपिएको आलु खन्न प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयवासीलाई परिचालन गरिएको थियो ।
बाँझो जमिन उपयोग गरेर उत्पादन गरिएको आलु गाउँपालिकाको केन्द्र चिसापानी बजारमा सञ्चालन गरिएको कोसेली घरमा भण्डारण गरी सुपथ मूल्य पसलमार्फत बिक्री गरिएको उपप्रमुख खेमबहादुर खड्काले बताए । वर्षौंदेखि बाँझिएको सार्वजनिक जग्गा उपयोगमा ल्याएर आलुखेती गर्दा उत्पादनमा जोड दिनुपर्ने सिकाइ भएको उनको भनाइ छ । आलुखेती प्रवद्र्धन कार्यक्रममा तीन लाख रुपैयाँ बराबरको श्रमदान जुटाइएको थियो । उत्पादित आलुलाई ग्रेडिङ गरी साना दाना भने सोही ठाउँमा बीउका रूपमा राखिएको छ ।
गाउँपालिकाले निर्वाहमुखी खेती प्रणाली अपनाउँदै आएका स्थानीयलाई व्यावसायिक बनाउन प्रोत्साहन रकमसमेत उपलब्ध गराउँदै आएको छ । १७ औँ गाउँसभाबाट स्थानीयलाई व्यावसायिक कृषि प्रणालीमा लैजान उत्पादनमा जोड दिने नीति तथा कार्यक्रम पारित गरिएको छ । छिमेकी जिल्ला भोजपुरको सिमानामा रहेको भञ्ज्याङखर्कका घाँसे मैदानमा आगामी आर्थिक वर्षमा पनि आलुखेती लगाउने योजना बनाइएको छ । आलुखेतीका लागि आवश्यक मल उत्पादन गर्न वडा कार्यालय डम्बर्खुशिवालयले भैँसी खरिदका लागि बजेटसमेत विनियोजन गरेको जनाएको छ ।
तपाईको बिचार