काठमाडौंबाट उडेको टर्किस एयरको विमानमा आगलागी - MirrorNepal.com

काठमाडौंबाट उडेको टर्किस एयरको विमानमा आगलागी


काठमाडौँ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किश एयरलायन्सको विमानको एउटा इन्जिनमा आगो लागेको छ ।

उडेको केही समयमै समस्या देखिएपछि विमान फर्किन खोजेको थियो । तर, केहीबेर काठमाडौंको आकाशमा फन्को मारेपछि विमान कोलकातामा अवतरणको अनुमति लिएर त्यतै गएको छ । विमानस्थलबाट उडेलगत्तै समस्या देखिएको विमानस्थल स्रोतले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागी भएको हो ।

टर्किसको उडान नम्बर ‘टीएचवाई ७२७’ को जहाज त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १:२८ बजे उडेको लगत्तै ४ मिनेटमा दायाँ इन्जिनमा आगलागी भएको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।

‘टर्किसको जहाजका क्याप्टेनले उडेको ४ मिनेटमै दायाँ इन्जिनमा आगलागी भएको खबर गरे,’ विमानस्थल महाप्रबन्धक सिटौलाले  भने, ‘त्यसपछि टर्किस चालकदलले जहाजलाई पश्चिम दिशामा लगेर दायाँ इन्जिन बन्द गरेर १० देखि १२ मिनेट होल्ड गर्‍यो ।’

टर्किस जहाजको दायाँ इन्जिनमा आगलागी भएको खबर आउनासाथ त्रिभुवन विमानस्थल १५ मिनेटका लागि पूर्णरूपमा बन्द गरिएको थियो ।

तपाईको बिचार