राजावादी अभियान्ता दुर्गा प्रसाईं रिहा - MirrorNepal.com

राजावादी अभियान्ता दुर्गा प्रसाईं रिहा


काठमाडौँ । राजावादी अभियान्ता दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई आइतबार साँझ हाजिरी जमानीमा छाडिएको साइबर ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

उनका अनुसार प्रसाईंलाई जिल्ला सरकारी वकिल काठमाडौंको आदेशमा हाजिरी जमानीमा रिहा गरिएको हो । उनलाई ब्यूरोले गत शुक्रबार दिउँसो काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको थियो । ​​

वीरगञ्जमा स्थानीय प्रशासनले अनुमति नदिएको स्थानमा कार्यक्रम गर्न जान लागेको बेला उनी पक्राउ परेका थिए ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाऊ महाअभियानका संयोजक समेत रहेका प्रसाईं यसअघि यही माघ ५ गते पोखराबाट पक्राउ परेका थिए ।

पछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रसाईंलाई हाजिरी जमानीमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएपछि उनी हिरासत मुक्त भएका थिए ।

तपाईको बिचार