टुँडिखेलमा ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाईयो - MirrorNepal.com

टुँडिखेलमा ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाईयो


काठमाडौँ । टुँडिखेलको सैनिक मञ्चमा विभिन्न कार्यक्रमको आयोजना गरी आज बिहीबार ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ ।टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश लगायत विभिन्न राजनीतिक दलका नेता लगायत, विशिष्ठ व्यक्तित्वको सहभागिता रहेको थियो ।

सरकारले प्रजातन्त्र दिवसका अवसरमा बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ । २००७ सालमा भएको क्रान्तिपछि १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ ।प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताइन् ।

प्रधानमन्त्री कार्कीले वि.सं. २०१५ फागुन ७ गतेदेखि सुरु भएको नेपालको निर्वाचन इतिहासको स्मरण गर्दै वर्तमान सरकारले निर्वाचनमार्फत मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगमा लैजाने प्रतिबद्धता व्यक्त गरिन। उनले तोकिएकै मितिमा भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको दाबी समेत गरिन्।

निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास लिएकी छु, प्रधानमन्त्रीले भनिन् – ‘संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली र सामाजिक न्यायसहितको समृद्धिका लागि सबै एकजुट हुन आवश्यक छ ।’

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गते भएको जेन–जीु युवाहरूको आन्दोलनलाई राज्यले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै युवाको ऊर्जा र नैतिक क्रोधलाई दमन गरेर नभई सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्ने बताइन। उनले भनिन- ‘हाम्रा युवा अभाव सहन तयार छन् तर अन्याय, अपमान र तिरस्कार सहन तयार छैनन् ।’

सम्बोधनका क्रममा उनले जहानियाँ राणा शासनविरुद्ध ज्यान उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिन् । उनले बुद्धिजीवी, नागरिक समाज र युवा समुदायलाई समुन्नत र न्यायपूर्ण नेपाल निर्माणका लागि हातेमालो गर्न अपील गरिन् ।

तपाईको बिचार