रौतहटमा प्रशासनद्वारा अनिश्चितकालीन कर्फ्यू आदेश जारी - MirrorNepal.com

रौतहटमा प्रशासनद्वारा अनिश्चितकालीन कर्फ्यू आदेश जारी


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। गौर नगरपालिका–६ स्थित सवगढा गाउँमा दुई समुदायबीच भएको झडप उग्र बन्दै गएपछि प्रशासनले कडा सुरक्षा कदम चालेको हो।

प्रशासनका अनुसार शनिबार दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गरिएको हो। कर्फ्यूको क्षेत्र पूर्वमा मुडवलवा गेट, पश्चिममा ललवैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय गेटसम्म तोकिएको छ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचनामा कर्फ्यू उल्लंघन गर्ने जो–कोहीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट गरिएको छ। आदेश जारी भएका क्षेत्रमा आवत–जावत, भेला, सभा, जुलुस तथा प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको छ।

श्रोत अनुसार मस्जिदमा प्रार्थना भइरहेका बेला हिन्दू समुदायका केही व्यक्तिबाट बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियाे । जिल्ला प्रशासनको पहलमा शुक्रबार साँझ दुवै पक्षबीच ६ बुँदे सहमति भए पनि शनिबार बिहानदेखि पुनः दुई समुदायबिच ढुङ्गामुढा सुरु भएको थियाे ।

अहिले कर्फ्यूसँगै अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाली सेना लाई प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। प्रशासनले नागरिकलाई संयमित रहन, अफवाहमा विश्वास नगर्न र शान्ति कायम गर्न सहयोग गर्न आग्रह गरेको छ।

 

तपाईको बिचार