भ्रष्टाचार प्रकरणमा रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश - MirrorNepal.com

भ्रष्टाचार प्रकरणमा रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश


काठमाडौँ । पोखराको लिची बगैँचा जग्गासम्बन्धी घुस प्रकरणमा मुछिएकी नेतृ रञ्जिता श्रेष्ठलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। आइतबार विशेष अदालतमा उपस्थित भएपछि न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वभूमिसुधार मन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कार्य सुविधा प्रदान गर्न २५ लाख रुपियाँ घुस लिएको अभियोग लगाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज २२ गते पूर्वमन्त्री श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

आयोगले श्रेष्ठसँग ७८ लाख रूपैयाँ विगो कायम गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । पोखरा महानगरपालिका–१६ मा रहेको दीप विर्ता (लिची बगैँचा) मा रहेको भनिएको नक्सा नम्बर २५, २६ र २८ को जग्गाको सम्बधमा भ्रष्टाचार प्रकरणमा श्रेष्ठ जोडिएका हुन् ।

पोखराको बाटुलेचौरमा रहेको लिची बगान क्षेत्रको १३४ रोपनी जग्गा हडप्न पूर्वमन्त्री गुप्ता, नाउपा अध्यक्ष तथा पूर्वमन्त्री श्रेष्ठ र बिचौलिया सुजन लामाबिचको घुस डिल अडियो सक्कली भएको विधिविज्ञान प्रयोगशालाबाट पुष्टि भएपछि मन्त्री गुप्ताले राजीनामा दिएका थिए ।

तपाईको बिचार