काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको भन्दै निर्वाचन आयोगले प्रत्यक्ष प्रणालीतर्फको मतपरिणाम मतदान सकिएको २४ घण्टाभित्र सार्वजनिक गर्ने लक्ष्य राखेको जनाएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक प्रतिनिधि सभाको मात्र निर्वाचन भएकाले मतगणनामा ढिलाइ नहुने विश्वास व्यक्त गरे। उनका अनुसार, मतपेटिका सुरक्षित रूपमा सङ्कलन गरेलगत्तै द्रुत गतिमा गणना प्रक्रिया अघि बढाइनेछ। समानुपातिकतर्फको मतगणनामा भने एक–दुई दिन थप समय लाग्न सक्ने उनले स्पष्ट पारे।
आयुक्त भण्डारीले उपत्यका बाहिरका अधिकांश क्षेत्रमा मतपत्र ढुवानी भइसकेको र काठमाडौं, ललितपुर तथा भक्तपुरका बाँकी स्थानमा पनि तोकिएको समयभित्र पुर्याइने जानकारी दिए। मतदान अधिकृतहरूको तालिम मंगलबार साँझसम्म सम्पन्न गरी आवश्यक सामग्रीसहित उनीहरूलाई सम्बन्धित केन्द्रमा खटाइनेछ।
मतपत्र छपाइदेखि ढुवानीसम्मका जटिल व्यवस्थापकीय काम सकिएको र आयोग अहिले कार्यान्वयन चरणमा प्रवेश गरिसकेको उनको भनाइ छ।
हिमाली र दुर्गम क्षेत्रमा अस्थायी मतदान केन्द्र निर्धारणबारे अन्तिम निर्णय हुन बाँकी रहेको आयोगले जनाएको छ। भौगोलिक कठिनाइ र मौसमको अवस्थालाई ध्यानमा राख्दै मतदातालाई मतदानबाट वञ्चित हुन नदिने गरी आवश्यक परे लचिलो व्यवस्था गरिने तयारी छ।
“जरूरत परे मतदाता जहाँ छन्, त्यहीँ पुगेर मत सङ्कलन गर्ने निर्णय गर्न आयोग तयार छ,” भण्डारीले भने।
निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचनाप्रति सजग रहन आयोगले मतदातालाई आग्रह गरेको छ। असत्य सामग्री तुरुन्त हटाउन र त्यसको पछि नलाग्न उनले अनुरोध गरे।
त्यसैगरी, राजनीतिक दलहरूलाई निषेधको राजनीति नगर्न चेतावनी दिँदै उनले स्वच्छ र स्वस्थ प्रतिस्पर्धाबाट मात्रै सक्षम नेतृत्व चयन हुने बताए।
निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन आगामी २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। आयोगले शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
तपाईको बिचार