कांग्रेस र राप्रपाद्वारा समानुपातिकतर्फ सांसदको नाम सिफारिस - MirrorNepal.com

कांग्रेस र राप्रपाद्वारा समानुपातिकतर्फ सांसदको नाम सिफारिस


काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ २० जनाको नाम तय गरी निर्वाचन आयोगमा पठाएको छ। फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जितेको थियो।

आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फ २० सिटमा १५ जना महिला र ५ जना पुरूषको नाम सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए। उनले आयोगले नै समानुपातिक सांसदको नामावली सार्वजनिक गर्ने बताए ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि आजै समानुपातिकतर्फका उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले चार सिटका लागि प्रस्तावित नाम तय गरेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्।

तय भएका नाममा खस आर्यतर्फ महोत्तरीका भरत गिरी, मुस्लिमतर्फ रुपन्देहीका ताहिर अली, खस आर्य महिलातर्फ झापाकी खुस्बु ओली र जनजातितर्फ धादिङकी सरस्वती लामा रहेका छन्।

पार्टीका अनुसार यी नाम निर्वाचन आयोगमा सिफारिस गरिएको छ भने आयोगले अनुमोदन गरेपछि आधिकारिक रूपमा समानुपातिक सांसदको रूपमा सार्वजनिक गरिनेछ।

तपाईको बिचार