संसदीय राजनीतिबाट सन्यास लिने सीके राउतको घोषणा - MirrorNepal.com

संसदीय राजनीतिबाट सन्यास लिने सीके राउतको घोषणा


  • Mirror Nepal १ चैत २०८२, सोमबार १५:५१:५१

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि राष्ट्रिय पार्टि बन्न असफल जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। तर उनले संघर्षको राजनीति भने निरन्तर जारी रहने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, ‘संसदीय राजनीतिबाट संन्यास लिने, संघर्षको राजनीति जारी राख्ने । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने । म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु– म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन ।’

उनले थप लेखेका छन्, ‘राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु ।’

२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय राजनीतिमा उदाएको दलका रूपमा देखा परेको थियो। सो निर्वाचनमा पार्टीले राष्ट्रिय दलको मान्यता पाएको थियो। प्रत्यक्षतर्फ अध्यक्ष राउत आफैं निर्वाचित भएका थिए भने समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर थप पाँच सिट प्राप्त गरेको थियो।

तर २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनमा जनमत पार्टीले प्रतिनिधिसभामा कुनै पनि सिट प्राप्त गर्न सकेन। सप्तरी–२ बाट प्रतिस्पर्धा गरेका अध्यक्ष राउत रास्वपाका रामजी यादवसँग पराजित भए। प्रत्यक्षतर्फका अन्य उम्मेदवारले पनि जित हासिल गर्न सकेनन् भने समानुपातिकतर्फ पनि थ्रेसहोल्ड कटाउन सकेन ।

यसपछि अध्यक्ष राउतले आफू संसदीय राजनीतिबाट टाढा रहने तर पार्टीलाई आगामी निर्वाचनका लागि तयारी गराउने काममा केन्द्रित हुने बताएका छन्।

तपाईको बिचार