काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो ४ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठक संसदीय दलको नेता चयनमा केन्द्रित रहने जानकारी दिएका छन्।
बैठकपछि संसदीय दलको बैठक पनि बस्नेछ, जहाँ नेता छनोट र अन्य एजेण्डाबारे छलफल गरिनेछ। रास्वपाले चुनावअघि गरेको घोषणा अनुसार वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ।
यसका लागि पार्टी विधान संशोधन आवश्यक रहेको नेताहरूले बताएका छन्। विधान संशोधनपछि आजै बालेनलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको छ।
यसअघि नवनिर्वाचित सांसदहरूले सिंहदरबारस्थित संसद भवनमा पद तथा गोपनीयताको शपथ लिएका छन्। त्यसलगत्तै पार्टीले केन्द्रीय समिति र संसदीय दलको बैठकमार्फत औपचारिक निर्णय प्रक्रिया अघि बढाएको हो।
संसदीय दलको नेता चयन भएपछि राष्ट्रपति कार्यालयमा संविधानको धारा ७१ (१) बमोजिम प्रधानमन्त्रीको नाम पठाइनेछ। त्यसअनुसार बालेनले भोलि शुक्रबार प्रधानमन्त्री पदको शपथ लिने तयारी गरिएको छ।
तपाईको बिचार