काठमाडौं । प्रतिनिधिसभाको बैठकले आगामी आर्थिक वर्षको विनियोजन विधेयक (बजेट), २०८२ पारित गरेको छ। मंगलवारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राखेको ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सभाको बहुमतले पारित गरेको हो। त्यसअघि सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८२ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।
सांसदहरू डा अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, बिमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत सुवेदी, उर्मिला माझी, हितबहादुर तामाङ, अम्मरबहादुर थापा, छिरिङ ल्हामु लामा (तामाङ) नारायणी शर्मा, गङ्गा कार्की र लेखनाथ दाहालले प्रस्तुत गरेको खर्च कटौतीको प्रस्ताव बैठकको बहुमतले अस्वीकृत गरेको थियो।
बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ, सहरी विकास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरू माथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए।
सरकारद्वारा गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गरिएको थियो। यसअघिका बैठकमा विनियोजन विधेयकमाथि सामान्य र मन्त्रालयगत शीर्षकमाथि छलफल भएको थियो। विनियोजन विधेयकका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्न र स्पष्टीकरणको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए।
तपाईको बिचार