नेकपा-एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच एकता - MirrorNepal.com

नेकपा-एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच एकता


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानबीच एकता घोषणा भएको छ । आज शुक्रबार राष्ट्रिय सभागृहमा एक कार्यक्रम आयोजना गरी दुई पार्टीबीच एकता घोषणा गरिएको हो ।

कार्यक्रममा नेकपा -एसका अध्यक्ष माधवकुमार नेपाल, सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमसहित दुवै पार्टीमा आबद्ध नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।

नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले आफूले जिम्मा लिएको आन्दोलन कहिल्यै असफल नभएको दावी गरेका छन् । पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले यस्तो दावी गरेका हुन् । ‘आवश्यकता पर्‍यो भने यी हातहरू हतियारका रूपमा प्रयोग हुन्छन्, हतियारका रूपमा प्रयोग गर्छु । अहिले पनि त्यसरी जान्छु । म आन्दोलनको व्यक्ति हुँ, नेता हुँ । मैले जिम्मा लिएको आन्दोलन असफल भएको छैन । सफलता मात्रै प्राप्त भएको छ,’ उनले भने ।

उनले आफू सय वर्षको उमेर हुँदासम्म कम्युनिष्ट आन्दोलनलाई अघि बढाइरहने पनि बताए ।

उनले भने- ‘त्यो बढी त बाँच्न आवश्यक पनि छैन । १०० वर्षसम्म मैले देशको कम्युनिष्ट आनदोलन अघि बढाउँछु । मैले मेरो जीवनमा के प्राप्त गर्नपर्छ भन्ने जान्ने भएपछि संकल्प गरेको छु । १) राजतन्त्रको अन्त्य । २) कम्युनिष्ट आन्दोलन एउटै बनाएर एक पार्टी बनाउने ।’ ०७५ सालमा दुई ठूला कम्युनिष्ट पार्टी मिलेर नेकपा बन्दा आफूलाई अब बाँकी केही छैन भन्ने लागे पनि त्यो टुंगोमा पुग्न नसकेकोमा दुःख व्यक्त गरे ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकताको घोषणा भएको हो। एकतापछि नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतम अब एकीकृत समाजवादीको वरिष्ठ नेता बनेका छन् ।

उनी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा रहनेछन्। एमालेले वेवस्ता गरेपछि नेता गौतम नेकपा एससँग एकता गर्न पुगेका छन्।

तपाईको बिचार