काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल मन्त्रीपरिषद् हेरफेर नहुने बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति देउवाले मन्त्रीपरिषद् हेरफेरको विषय उठिरहेको समयमा मन्त्रीहरू हेरफेर नहुने बताएका हुन्।
उनले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने पनि बताएका छन्। साथै देउवाले कांग्रेसको आसन्न महाधिवेशन समय आएपछि हुने प्रतिक्रिया दिए।
सत्ता सहकार्य गरिरहेको नेपाली कांग्रेसले सहमति नदिँदा मन्त्रिपरिषद् पुनर्गठन रोकिएको छ। एमालेको विधान महाधिवेशन र आफ्नो भारत भ्रमणअगाडि नै मन्पिरिषद् हेरफेर गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना सत्ता सहयात्री कांग्रेसका कारण रोकिएको हो। प्रधानमन्त्री ओली मन्त्रिपरिषद् हेरफेर गर्न चाहन्छन्।
केहि दिनअघि कांग्रेस सभापति देउवासँग भएको छलफलमा कांग्रेसले तत्काल आफ्ना मन्त्री हेरफेरमा सहमति नदिएको हो । कार्य सम्पादन राम्रो नभएका र केही विवादास्पद मन्त्रीलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री ओली छन्। स्रोतका अनुसार मन्त्रिपरिषद् हेरफेरका विषयमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकसहित छलफल भएको थियो।
मन्त्रिपरिषद्मा एमाले, कांग्रेस, जनता समाजवादी पार्टी (अशोक राई समूह), लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन्।
तपाईको बिचार