निर्वाचन आयोग परिसरमा कांग्रेसका दुई पक्षको प्रदर्शन - MirrorNepal.com

निर्वाचन आयोग परिसरमा कांग्रेसका दुई पक्षको प्रदर्शन


काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादका कारण शुक्रबार निर्वाचन आयोगको कार्यालय रहेको कान्तिपथ क्षेत्रमा तनाव सिर्जना भएको छ।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा पक्ष र विशेष महाधिवेशनलाई अवैधानिक मान्ने पक्ष (शेरबहादुर देउवा समूह)बीच आधिकारिकताको विषयलाई लिएर आयोग परिसरमा प्रदर्शन र नाराबाजी भएको हो। थापा पक्षका पदाधिकारी तथा नेताहरू आयोगको परिसरभित्रै धर्नामा बसेका छन्।

कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा समूहलाई निर्वाचन आयोगबाट ५ मिनेटमा बाहिर निकाल्न चेतावनी दिएका छन् । अहिले निर्वाचन आयोग कान्तिपथमा दुई समूहले धर्ना दिइरहेका छन् । थापा समूह आयोग परिसर भित्र छ भने देउवा समूह बाहिर छ ।

उता, आयोगको मूल गेट बाहिर र सडकमा देउवा पक्षका कार्यकर्ताहरूले ‘विशेष महाधिवेशन मान्दैनौं’ भनेर चर्को नाराबाजी गरिरहेका छन्। दुई पक्षबीच झडप हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आयोग आसपासको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। प्रहरीले आयोगको मूल गेट बन्द गरी प्रवेशमा रोक लगाएको छ।

प्रदर्शनकारीको भीड बढ्दै गएपछि भीड नियन्त्रणका लागि पानीको फोहोरा प्रहार गर्ने सवारी सहितको सुरक्षा टोलीलाई तयारी अवस्थामा राखिएको छ। दुवै पक्षले कांग्रेसको आधिकारिकताका लागि निर्वाचन आयोगमा आ-आफ्नो दाबी पेश गरेका छन्।

शुक्रबार बिहानै देउवा पक्षका नेताहरूले आयोग पुगेर विशेष महाधिवेशन अवैधानिक भएको भन्दै त्यसलाई मान्यता नदिन आग्रह गरेका थिए। लगत्तै बिहीबार नै आयोगमा नयाँ कार्यसमिति अद्यावधिक गर्न निवेदन दर्ता गराएको थापा पक्षका नेताहरू पनि आयोगमा पुगेका थिए।आयोगले हालसम्म यसबारे कुनै निर्णय सुनाएको छैन।

यसैबीच, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सानेपामा पत्रकार सम्मेलन आयोजना गरेर आयोगले आफूहरूलाई आधिकारिकता नदिए देशभर आन्दोलन छेड्ने चेतावनी दिएका छन्। कांग्रेसका दुवै पक्षले आयोगलाई दबाब दिन प्रदर्शन जारी राखेका कारण कान्तिपथ क्षेत्रको आवागमन समेत प्रभावित भएको छ।

दुवै पक्षका कांग्रेसी कार्यकर्ताको भीड बढेपछि आयोग परिसरको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

तपाईको बिचार