निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने - MirrorNepal.com

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने


काठमाडौँ । नेपाली कांग्रेस (देउवा पक्ष) को केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले आयोगले माघ २ गते गरेको निर्णय नेपालको संविधान, प्रचलित कानुन र पार्टीको विधान विपरीत रहेको ठहर गरेको हो।

बैठकका निर्णयबारे जानकारी दिँदै नेता डा. प्रकाशशरण महतले आयोगको निर्णयलाई ‘दुराशयपूर्ण’ र ‘दूषित मनसाय’ बाट प्रेरित रहेको टिप्पणी गरे। उनले भने, ‘देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीको विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी गम्भीर क्षति पुर्‍याउने मनसाय स्पष्ट देखिन्छ। यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो।’

बैठकले आयोगको निर्णयविरुद्ध संवैधानिक तथा कानुनी उपचार खोज्ने निर्णय गरेको महतले बताए । उनले भने, ‘हामी भोलि नै यसको खिलाफमा सर्वोच्च अदालत जाँदैछौं। हामीलाई विश्वास छ, सर्वोच्च अदालतबाट न्याय मिल्नेछ।’

महतले निर्वाचन आयोगले अर्को पक्षले गरेको विशेष महाधिवेशनको वैधानिकता र उपस्थित सङ्ख्या समेत जाँच नगरी एकतर्फी निर्णय गरेको आरोप लगाए । ‘हामीलाई बोलाउँदा पनि नबोलाई, हाम्रो पक्षलाई सुन्ने औपचारिकता समेत पूरा नगरी एकतर्फी रूपमा निर्णय गरियो,’ उनले भने ।

सञ्चारकर्मीहरूको जिज्ञासामा महतले शेरबहादुर देउवा नेतृत्वको समिति नै आधिकारिक रहेको र सानेपा छोड्ने प्रश्नै नउठ्ने बताए। उनले भने, ‘अहिले शेरबहादुरजीको सभापतित्वमा पूर्णबहादुरजी कार्यवाहक सभापति हुनुहुन्छ। यो नै आधिकारिक पार्टी हो। निर्वाचन आयोगले निर्णय गर्दैमा हामी आधिकारिक नरहने कुरा हुँदैन।’

देउवा पक्षले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि सशक्त प्रतिवाद गर्ने जनाएको छ।

उता कांग्रेसका नेता शेखर कोइराला समूह छलफलमा जुटेको छ। शेरबहादुर देउवा समूह निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक संघर्षको मैदानमा निस्कने योजना बन्दै गर्दा शेखर समूहमा भने कांग्रेसमै बस्ने दबाब बढेको छ ।

पुस २७ देखि ३० मा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले शुक्रबार वैधानिक मान्यता दिएपछि राति बसेको देउवा समूहका शीर्षनेताको बैठकले संघर्षमा जाने निर्णय गरेको छ ।

यता कोइरालाले पार्टीभित्रको विवाद संवादबाट समाधान हुने बताएका छन्। शनिबार सानेपा जानुअघि पत्रकारहरूसँग कुराकानी गर्दै नेता कोइरालाले संवादमार्फत समाधान निकाल्दै कांग्रेस पुनः एक हुने बताएका हुन् । भनेका छन्, ‘फेरि मिल्छ। मिलाउनुपर्छ। संवाद गर्नुपर्छ। संवादबाट नेपाली कांग्रेसको विवाद सल्टिन्छ । विश्वमा लडाइँहरू हुन्छन्। फेरि मिलेकै हुन्छ। सबै मिलाइन्छ।’

तपाईको बिचार