बालेनसँग प्रष्टीकरण माग्ने निर्वाचन आयोगको तयारी - MirrorNepal.com

बालेनसँग प्रष्टीकरण माग्ने निर्वाचन आयोगको तयारी


काठमाडौँ । रास्वपाका वरिष्ठ नेता बालेन साहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । उजुरीमा साहविरुद्ध निर्वाचन आचारसंहिता, प्रचलित कानुन तथा लोकतान्त्रिक निर्वाचन प्रक्रिया विपरीत घृणात्मक, भ्रामक अभिव्यक्ति दिएको आरोप लगाइएको छ । उजुरी धर्मराज तिमिल्सिनाले निर्वाचन आयोगमा दिएका हुन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेको पारदर्शी, बौद्धिक र तथ्यमा आधारित पब्लिक डिबेटको सन्दर्भमा शाहले सामाजिक सञ्जालमा टिप्पणी गर्दा लोकतान्त्रिक बहसको मर्म विपरीत भएको दाबी गरिएको छ ।

साहले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता शब्द कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक तथा तथ्यहीन आरोप भएको उजुरीमा उल्लेख छ ।

बालेनको यो अभिव्यक्ति घृणाजन्य र अपुष्ट व्यक्तिगत लाञ्छना भएको ठहर गर्दै आयोग आफैँले सार्वजनिक जानकारीका रुपमा लिएर प्रष्टिकरण लिने तयारी गरेको अवस्थामा सोमबार उजुरीसमेत दर्ता भएको छ। धर्मराज तिमिल्सिना नाम गरेका व्यक्तिले ओलीविरुद्ध निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै उजुरी दिएका छन्।

यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्‍याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने र मतदाताको मानसिकता भ्रमित पार्ने खतरा रहेको निवेदनमा भनिएको छ ।

निवेदनमा थप भनिएको छ, ‘गैरजिम्मेवार अभिव्यक्तिले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयमुक्त रूपमा सम्पन्न गर्ने संवैधानिक उद्देश्यलाई कमजोर बनाउँछ र लोकतान्त्रिक बहसलाई हिंसात्मक आरोप र अफवाहको तहमा झार्ने कार्य गर्दछ।’

नेपालको संविधान, निर्वाचन आचारसंहिता र प्रचलित कानुनले निर्वाचन अवधिमा भ्रामक सूचना, घृणात्मक अभिव्यक्तिहरू र अपुष्ट आरोप प्रयोग गरी मतदातालाई प्रभावित पार्न निषेध गरेको स्मरण गराउँदै उजुरीमा सो अभिव्यक्तिको तथ्यपरक छानबिन गरी आचारसंहिता विपरीत ठहर भएमा आवश्यक कारबाही गर्न माग गरिएको छ।

यसैगरी, उजुरीमा महोत्तरी लगायतका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी प्रचारका लागि भारतीय नम्बर प्लेट भएका सवारी साधन प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको उल्लेख गरिएको छ।

उक्त घटनाको सत्य तथ्य छानबिन गरी आवश्यक कारबाही गर्न निर्वाचन आयोगसँग माग गरिएको छ।

तपाईको बिचार