सापकोटाको नेतृत्वमा नेकपाको केन्द्रीय प्रचार समिति गठन - MirrorNepal.com

सापकोटाको नेतृत्वमा नेकपाको केन्द्रीय प्रचार समिति गठन


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटाको नेतृत्वमा केन्द्रीय प्रचार समिति गठन गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको निर्वाचन परिचालन समिति सचिवालयको दोस्रो बैठकले सापकोटाको नेतृत्वमा समिति गठन गरेको हो ।

निर्वाचनमा प्रचारप्रसारलाई प्रभावकारी बनाउनका लागि गठन गरिएको समितिमा जगन्नाथ खतिवाडा र गोविन्द आचार्य सदस्य छन् । केन्द्रीय प्रचार समितिले अन्य विभिन्न पक्षसँग आवश्यक परामर्शसहित प्रचार कार्यलाई व्यवस्थित रूपमा अघि बढाउने नेकपाले जनाएको छ ।

यस्तै, नेकपाले निर्वाचन परिचालनको प्रभावकारी अनुगमनका लागि प्रदेशगत जिम्मेवारी पनि तोकेको छ । जसअनुसार कोशी प्रदेशमा बेदुराम भुसाल, मधेश प्रदेशमा अग्नि सापकोटा, बागमती प्रदेशमा राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा देव गुरुङ, लुम्बिनी प्रदेशमा पम्फा भुसाल, कर्णाली प्रदेशमा प्रमेश हमाल र सुदूरपश्चिम प्रदेशमा रञ्जिता श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको छ।

त्यसैगरी, नेकपाले नेता तथा कार्यकर्ता परिचालनका लागि अपिल प्रकाशित गर्ने र घोषणापत्रलाई सम्पादन गरी छिट्टै प्रकाशन गर्ने निर्णय गरेको छ।

केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक यही माघ २२ गते बस्ने नेकपाले जनाएको छ ।

तपाईको बिचार